२०७८ साल असार महिनाको कुरा हो । महिलाविरुद्ध हिंसामा कार्यरत एउटा संस्थाले बलात्कारको कारणका सम्बन्धमा अनुसन्धान गरिरहेको रहेछ । अनुसन्धानका क्रममा बलात्कारीको मनस्थिति बुझ्न आवश्यक थियो । जसका लागि बलात्कार मुद्दामा सजाय काटिरहेका ब्यक्तिहरूलाई भेटेर कुराकानी गर्नुपर्ने हुन्थ्यो । बलात्कारको सजाय भोगिरहेका केही पुरुषको ‘केस स्टडी’ गर्ने काममा म पनि संलग्न भएँ । विभिन्न जेलमा जेलरमार्फत संयोजन गरेर बलात्कारका अपराधीहरू भेट्छु भन्ने योजनाका साथ मैले सहजै यो काम स्वीकार गरेकी थिएँ । तर पछि थाहा भयो, कोभिडका कारण अपराधीका आफन्तलाई समेत जेलमा भेट्न दिइएको रहेनछ । त्यस क्रममा डिल्लीबजारदेखि नख्खु कारागार हुँदै विभिन्न जिल्लाका जेलमा ड्युटी बसेका सुरक्षाकर्मीहरूसँग र पोखरा जेलमा रहेका केही कैदी-बन्दीसँग फोनमा कुरा गरेँ । फोनमा कुरा गरेर ‘केस स्टडी’ लेख्न सम्भव थिएन । केही जानकारीहरू भने अवश्य मिल्यो ।
२०७८ साउन ७ गते बिहीबार भक्तपुरस्थित सुधारगृहमा मैले बलात्कारको अपराधमा सजाय काटिरहेका १७४ मध्ये केही युवाहरू भेटेँ । २०७८ साल साउन ६ गतेसम्म बलात्कारका अपराधीलाई फाँसीको सजाय हुनुपर्छ भन्ने मान्यता राख्दै आएकी मलाई आफूले कुरा गरेकामध्ये केही युवाहरूले भोगिरहेको वास्तविकताले हाम्रो जस्तो देशमा फाँसीको सजाय दिने कानून बन्न हुँदैन भन्ने लाग्यो । सहमतिको सम्बन्ध र बलात्कारका बीचको फरक छुट्याएर कानूनी प्रक्रिया अवलम्बन गर्नुपर्छ भन्ने मेरो मान्यता पुरानै हो । बलात्कारका मुद्दामा कुनै पनि प्रकारको माफी या कानूनी कार्वाहीमा तलमाथि स्वीकार्य छैन ।
मैले भेटेकामध्ये केहीले बलात्कार गरेका थिए र, उनीहरूले कानुनी सजाय भोगिरहेका छन्, जुन भोग्नैपर्थ्यो/पर्छ । तर केही युवा भने सहमतिको सम्बन्ध भए पनि जेल सजाय का्िटरहेका छन् । जसमध्ये एक युवाको वास्तविकता यस्तो छ- अहिले १७ वर्षका ती युवा घटना हुँदा १५ वर्षका रहेछन् । २०७६ साल कार्तिकमा उक्त घटना हुँदा उनी काभ्रेस्थित प्रहरी स्कुलमा १० कक्षामा पढ्दैरहेछन् । जनजाति परिवारका उनका बाबु कान्छीआमासँग धरानमा बस्छन्, आमा दुबईमा । दाइ पनि विदेशमा छन् । उनी मामाघरकी हजुरआमासँग काभ्रेमा बस्थे । साथीहरूको सङ्गतले कुलतमा फसेका उनले काभ्रेकै आफूभन्दा दुई वर्ष जेठी केटीलाई ग्याङवाला केटाहरूले दुर्व्यवहार गर्न खोज्दा बचाएका रहेछन् । आफूलाई बचाएपछि केटीले उनलाई बारम्बार फोन गर्न थालिन् र भेट्न आग्रह गरिन् । केटाको आफ्नै गर्लफ्रेण्ड भएकाले खासै वास्ता गरेनन् । सधैं म्यासेज पठाउने, फोन गर्ने गरेपछि उनीहरू भेट्न थाले ।
गलत गरुँ भन्ने चाहना कसैलाई हुँदैन तर सँगै रहँदा/बस्दा या प्रेम सम्बन्धमा हुँदा शारीरिक सम्बन्ध भयो भने हाम्रो कानूनले त्यसलाई अपराध मान्छ । त्यसैले १८ वर्षअघिको सहमतिको यौन सम्बन्ध र बलात्कारलाई छुट्याएर हेर्नुपर्छ । सहमतिकै भए पनि केटीको उमेर १८ वर्ष नपुगी सम्बन्ध राखे बलात्कार ठहरिने कानून गलत छ ।
केही समयपछि केटीले नै होटेलमा बोलाइन्, उनीहरूले शारीरिक सम्बन्ध राखे । त्यसपछि पनि उनीहरूको भेटघाट भइरहेको थियो । तीन महिनापछि एक्कासी प्रहरीले पक्राउ गऱ्यो । आफू कुलतमा फसेकोले सोही कुरा थाहा पाएर पक्राउ गरेको भन्ने ठाने उनले । तीन दिनसम्म नछोडेपछि आफूलाई किन पक्राउ गरेको भनेर प्रहरीसँग सोधे । ज.क. मुद्दामा प्रक्राउ गरेको भन्ने प्रहरीको जवाफ उनले बुझेनन् र सोधे- ‘ज.क. भनेको के हो ?’ जवाफमा प्रहरीले ‘जबर्जस्ती करणी’ भने । उनले त्यो पनि बुझेनन् र सोधे, ‘के हो जबर्जस्ती करणी भनेको ?’ प्रहरीहिरासतमा रहेका कसैले ‘जबर्जस्ती करणी भनेको बलात्कार हो के, रेप..’ भनेपछि उनी छक्क परे । उनले त कसैलाई बलात्कार गरेकै थिएनन् । पछि थाहा भयो, सम्बन्ध राख्दा ती केटीसाथीले भिडियो खिचेकी थिइन् । त्यो भिडियो तीन महिनापछि उनकी आमाले मोबाइलमा देखेर त्यो मान्छेको खोजी गर्दै प्रहरीमा उजुरी दिइछन् ।

केटीले प्रहरीलाई आफूले केटालाई एकदम माया गर्ने भएकाले बेला-बेलामा हेर्नका लागि भिडियो बनाएको बयान दिइन् । तर केटीको उमेर १७ वर्ष मात्र भएकाले कानूनतः केटीले नै आग्रह गरेर राखिएको सम्बन्ध भए पनि त्यो बलात्कार भयो । अहिले उनी बलात्कार र साइबर क्राइम दुवैको मुद्दामा जेल (सुधारगृह) मा छन् । मुलुकी अपराध संहिताको करणीसम्बन्धी कसूरमा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिइ करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ’ भनिएको छ । यही कानूनअन्तर्गत अदालतबाट ११ वर्षको सजाय सुनाइएका उनले साइबरवाला २ वर्ष कैद बलात्कारको कैदभित्रै कट्ने र दिन-रात जोडिएर समय घट्दा अझै पनि ७ वर्ष महिना जेलमा बिताउनुपर्नेछ ।
मसँगको भेटमा ती युवाले भनेका थिए, ‘बलात्कार भनेको त मैले सिनेमामा देखेको थिएँ, हिरोइनहरूले चिच्याएको दृष्य म हेर्नै सक्दिनथेँ, निर्मला हत्याकाण्डमा म पनि जुलुस गएको थिएँ । केटीहरूलाई ग्याङमा साथीहरूले दुर्व्यवहार गर्न खोज्दा बचाएको थिएँ । तर आज म आफै यस्तो घटनामा परेँ ।’ अहिले उनी ११ कक्षामा पढिरहेका छन् । जेलमा बस्दा लागुऔषधको कुलत छुटेकोमा भने उनी खुशी छन् । खेलकुदमा रुचि भएका उनलाई यो देशको नामी खेलाडी बन्ने रहर छ । आफूलाई हुर्काएकी ८३ वर्षकी हजुरआमा आफू जेलबाट छुटुन्जेलसम्म बाँचिदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ । यस्ता सहमतिका सम्बन्धहरू बलात्कारमा परिणत भएर जेल सजाय काटिरहेकाहरूको सङ्ख्या धेरै रहेछ । जसले साँच्चीकै बलात्कारका घटनालाई सामान्यीकरण गरिरहेको छ ।
यस्तो कानूनी प्रावधान गलत छ भन्ने प्रहरी, न्यायाधीश, सम्बन्धित सरोकार पक्ष सबैलाई थाहा छ तर चुपचाप सबैले पालना गरेको अवस्था छ । कानूनको पालना गर्नु पनि पऱ्यो तर कुनै पनि कुरामा सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । बलात्कार र सहमतिको सम्बन्धलाई एउटै आँखाले हेर्ने यस्तो कानून संशोधन हुनुपर्छ ।
स्कुल गएकी बालिकालाई बलात्कार गरी हत्या गर्ने मोरङका ६३ वर्षीय दीपक गिरी या पाँच वर्षीय बालिकालाई बलात्कार गर्ने बझाङको ६१ वर्षीय जगदिश जोशी र सहमतिमा सम्बन्ध राखि पछि धोखा पाएका या कारणवश कसैले मुद्दा हालेका कुनै ब्यक्तिलाई एउटै सजाय कसरी हुन सक्छ ? धोका मानिसको नैतिकता र इमान्दारीसँग जोडिएको कुरा हो । बलात्कार जघन्य अपराध हो । बलात्कारसम्बन्धी कानूनमा गम्भीर रूपले समीक्षा गर्नु आवश्यक छ ।
अहिले सूचना र प्रविधिको सहज पहुँच र तिनमा देखाइने या हेर्न पाइने अनेक दृष्यका कारण युवाहरूका लागि शारीरिक सम्बन्ध सामान्य हुँदै गएको छ । ३० वर्षअघि जस्तो स्कुल पढ्दा नोटकपी या किताबको बीचमा राखिदिएको प्रेमपत्र पढ्दा मुख रातो पार्ने या सोही कारणले दुई-चार दिन स्कुल नजाने अवस्था अहिले छैन । अहिलेको पुस्ता आफ्नो प्रेमी या प्रेमिकालाई सम्झिएर प्रेमपत्र लेख्दै भावुक बनेर समय बिताउँदैन । मन मिल्यो भने शारीरिक सम्बन्ध उनीहरूका लागि निषेधित कुरा होइन । हामीकहाँ ‘लिभिङ टुगेदर’मा बस्नेहरूको सङ्ख्या बढ्दो छ । एकर्कामा प्रेम भएर सँगै रहँदा-बस्दा शारीरिक सम्बन्ध हुँदैन भनेर सोच्न मिल्ने कुरा पनि होइन ।
आफूले गलत गरुँ भन्ने चाहना कसैलाई हुँदैन तर सँगै रहँदा/बस्दा या प्रेम सम्बन्धमा हुँदा शारीरिक सम्बन्ध भयो भने हाम्रो कानूनले त्यसलाई अपराध मान्छ । त्यसैले १८ वर्षअघिको सहमतिको यौन सम्बन्ध र बलात्कारलाई छुट्याएर हेर्नुपर्छ । सहमतिकै भए पनि केटीको उमेर १८ वर्ष नपुगी सम्बन्ध राखे बलात्कार ठहरिने कानून गलत छ । सहमतिमा भएको सम्बन्धमा पनि कसैले मुद्दा हालिदियो भने केटा जेल जान्छ, कानून नै त्यस्तो छ । यस्तो कानूनी प्रावधान गलत छ भन्ने प्रहरी, न्यायाधीश, सम्बन्धित सरोकार पक्ष सबैलाई थाहा छ तर चुपचाप सबैले पालना गरेको अवस्था छ । कानूनको पालना गर्नु पनि पऱ्यो तर कुनै पनि कुरामा सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । बलात्कार र सहमतिको सम्बन्धलाई एउटै आँखाले हेर्ने यस्तो कानून संशोधन हुनुपर्छ । घट्ना र विचार
-बविता बस्नेत