Home कला “बन्दकीका भाखाहरू ” -सचिन्द्र श्रेष्ठ

“बन्दकीका भाखाहरू ” -सचिन्द्र श्रेष्ठ

by ईलालटिन
0 comment

हरेक पलका स्मृतिहरू सँगै
जल्दै मुटुमा तिम्रै अनवरत यादहरू सँग
यो तातो मरुभूमिमा

तिम्रै पर्खाइमा दिनहरू काटिरहेको छु
मन भित्र कोरा सपना राखेर
आउने भाकाहरू आँसुमा
गनेर यो कलिलो जीवनलाई
अर्कैको परिधिमा बेचिरहेको छु

अब त तिमि पनि
कुर्दा कुर्दै थाकी सक्यौ रे!
आफैमा आत्म बिभोर बनेको छु
कति पटक आउने भाखा सारिरहे
कति पटक आफूलाई घटाइरहे
तिम्रो विश्वासमा धोका भए
तिम्रो प्रतीक्षामा बाधा भए
बाल मस्तिष्कमा आघात भए
आज रोदनै रोदनका यादहरूमा तिमीहरू
सँगको बिछोडले टाढा बनाएको छ

प्रिय छोरा!
तोते बोली र यिनै
औलाले डोराउँदै भाऱ्यांङ तल माथि
गरेका दिनहरू मानसपटलमा
ताजै छन्

काँधमा बोकेर हिँडेका क्षणहरूले
अझै नै तिम्रो न्यानो स्पर्श
मेरो काँधमा अल्झिएको महसुस गराउँछ

प्रिय छोरा!
मेरो आश्वासनले तिमीलाई
चित्त दुखाएको होला,
मेरो बाध्यताले तिमीलाई
धोकेवाज़ र जाली देखायो होला,
तर,

परिस्थितिको दास बन्नुको
पिडा तिमीले एक दिन अवश्य बुझ्ने छौ
आजकल त तिमी
हजुरबुवा सँग मान्दिनौ रे..
ममी सँग बोल्दैनौ रे..
मेरो गल्तीको सजाय
उनीहरूले पाएकोमा लज्जित छु।

यसै साल भेंटछु,आउँछु भन्दा भन्दै
समयले नेटो काटी सक्यो
मेरो मुहारमा मलिनता
र दैनिक कार्यमा ह्रास आएको छ

प्रिय छोरा !
माफ गर यस पटक पनि
म आउन सकिन!

यहाँ अन्य साथीहरू घर
जाँदा मन कटक्क खान्छ
अनि आफैलाई धिक्कार्न थाल्छु
धेरै पटक आँखाहरू रसाई रहन्छन्
फेरी छिट्टै तिमीलाई
अँगालोमा बाँधेर धित मर्ने दिन
कहिले आउला भनेर
पल पल सम्झी रहन्छु
मेरो र तिम्रो जन्मदिन
सँग सँगै मनाउने

तिमीलाई सर्प्राइज दिने भनेर
बर्षौ देखि बनाएको सपना
आज आफ्नै सर्प्राइज भए
यो पटक पनि घर नजाने
निर्णयको बन्दी भएकोमा !

अब त तिमी ठुलो भई सक्यौ
जे हुन्छ राम्रोको लागी हुन्छ भनेर
सम्झ र आफूलाई सम्हाल
समय फेरी आउने छ
मिठा क्षणहरू सँगै बिताऊ न
भाग्यले कहिले सम्म रोकथाम गर्ला र
बस छोरा!
यसपालि पनि आउन सकिन
माफ गर !!

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com