पर्वत । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने दुई व्यक्तिलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पोखरामा बसेर नक्कली प्रमाणपत्रको धन्दा गर्दै आएका पर्वत जिल्लाको महाशिला गाउँपालिका २ भोक्सिङका ३८ वर्षीय रिमबहादुर हमाल र सुर्खेत जिल्लाको चौकुने गाउँपालिका ५ का ३२ वर्षीय तुलाराम नाम्जाली मगरलाई पक्राउ गरेको हो ।
पर्वतको पकुवाका आशिष केसीले दोस्रो नागरिकता लिन नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका थिए । उनी अहिले लिखत सम्बन्धी कसुर किर्ते गर्न नहुने मुद्दामा हिरासतमा रहेका छन् । उनै केसीको दोस्रो नागरिकता लिन प्रयोग गरेका नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा नक्कली कागजात बनाउने हमाल र मगरलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।
पोखरामा हमालले आफ्नै भुपुसैनिक अनलाइन सेवा नामक पसलबाट विभिन्न विद्यालयका कागजात, एसइई परीक्षा र कलेजका नक्कली प्रमाणपत्रहरू तयार गर्दै आएका थिए । हमाललाई उनकै पसलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसतै मगरलाई काठमाण्डौबाट पोखरा आउने क्रममा पोखरा विमानस्थलमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।
पर्वतबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले हमाल र मगरलाई पक्राउ गर्न सफल भएको थियो । उनीहरूबाट प्रहरीले विभिन्न विद्यालयको नामका तथा व्यक्तिका तयारी प्रमाणपत्र तथा प्रमाणपत्र तयार गर्न प्रयोग गरिएका कम्प्युटर, प्रिन्टर लगायतका प्रमाणपत्र समेत बरामद गरेको छ । त्यसतै प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय लमजुङको छाप समेत बरामद गरेको छ ।
