झापा । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए । विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए ।
“हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ”, उनले भने, “ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ । मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले रु २७ लाख सहयोग उपलब्ध गराएको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनुरुप मन्दिर निर्माण गरिएको बताए । “नगरकै आकर्षक धार्मिक पर्यटकीयस्थल बनाउने योजनामा स्थानीयवासी लाग्नुभएको छ”, उनले भने, “यसमा नगरपालिकाले पनि सहयोग गरेको हो ।”