Home TV पाङको ज्योतिष विद्या पुस्तान्तरण नहुँदा हराउँदै जाने चिन्ता (भिडियो)

पाङको ज्योतिष विद्या पुस्तान्तरण नहुँदा हराउँदै जाने चिन्ता (भिडियो)

by ईलालटिन
0 comment

पर्वत । यो देखिएको मनमोहक गाउँ पर्वतको पाङ हो । यस गाउँ ज्योतिष विद्याका लागि प्रख्यात छ । सदरमुकाम कुश्मा बजारबाट ६ किलोमिटर पश्चिम र बागलुङ सदरमुकामबाट ६ किलो मिटरको उत्तर पूर्वमा कुश्मा नगरपालिका वडा नम्बर १ पाङ पर्छ ।

यहाँको ज्योतिष विद्यालाई लिएर एउटा प्रचलित भनाई पनि छ, ‘तराईको दाङ, पहाडको पाङ, न्याय हराए गोर्खा जानु ज्योतिष विद्याको लागि पाङ जानु ।’ तर, समय क्रम सँगै ज्योतिष विद्या जानेका धेरै ज्योतिषहरू बसाइसराइ गरी अन्यत्र गइसकेका छन् । बाँकी रहेकाहरू पनि बुढ्यौली सँगै कमजोर बन्दै गएका छन् ।

युवापुस्ताहरूमा खासै यस पेसालाई लिएर चासो र चिन्ता भएको पाइँदैन । ज्योतिष विद्यामा अब्बल मानिएका ज्योतिषहरूकै सन्तान कोही विदेशमा छन् त कोही नेपालमै विभिन्न पेसा र व्यवसाय गरी बसेका छन् । जसका कारण ज्योतिष विद्या पुस्तान्तरण हुन सकिरहेको छैन । अब्बल पाङको ज्योतिष विद्या हराएर जाने त होइन भन्ने चिन्ता बढ्न थालेको छ ।

पाङका ज्योतिष देशभर नै कहिलिएका छन् । मिलेको कुण्डली भएमा व्यक्तिका भूत, वर्तमान र भविष्य सहजै बताउन सक्ने भएकाले पनि पाङको ख्याति देशभर भएको हो । यस ठाउँको सुन्दरताको बारेमा पनि एउटा चल्तीको भनाई छ, ‘देउपुरको जस्तो खेती र पाती बाजुङको जस्तो गाउँ, हिमाल देख्ने दुर्लुङ्गे डाँडा मोहनीलाग्दो पाङ ।’

प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गाउँमा ज्योतिष विद्या सिक्नका लागि भनेर विभिन्न जिल्लाबाट आउने विद्यार्थीहरूको सङ्ख्या बाक्लो हुने गर्थ्यो । तर, अहिले भने त्यस्तो छैन । फाट्टफुट्ट केही विद्यार्थीहरू आउने गरेका छन् । चिना, चिर्कटो, हस्तरेखा, आखत लगायत हेर्ने काम कहिलेबाट सुरु भएको हो भन्ने यकिन छैन । तर, विक्रम संवत् ११९० सालयताका प्रमाणहरू भने फेला परेको यहाँका ज्योतिषहरू बताउँछन् । गाउँकै पाका ज्योतिष ८२ वर्षीय खगराज रिजाल आफूले सुनेका र भोगेका पुराना कुरा यसरी सुनाउँछन् ।

पाङका युवाहरूमा ज्योतिष विद्याप्रतिको आकर्षण हराउँदै जान थालेको बर्षौ भइसक्यो । अहिले एकाध युवा मात्र ज्योतिष विद्या अध्ययन गरिरहेका भेटिन्छन् । ती मध्येका एक हुन् मुक्तिराम रिजाल । बाहिरी जिल्लाबाट भने केही अझैँ अध्ययन गर्न आउँछन् । बाहिरका आएर सिकेर जाने तर गाउँका कोही पनि युवा ज्योतिष अध्ययन गर्न नचाहने कारण अब पाङबाटै ज्योतिष विद्या हराएर जाने हो कि भन्ने चिन्ता रिजालको छ । आफ्ना बाउ बाजेको पालादेखि चल्दै आएको परम्परा धान्नका लागि आफूले ज्योतिष विद्यालाई निरन्तरता दिइरहेको रिजाल सुनाउँछन् ।

पाङका सबैभन्दा पाका ज्योतिष खगराज रिजालका छोरा राम प्रसाद रिजाल एक विद्यालयका प्रधानाध्यापक हुन् । उनले त्यो बेला आधुनिक शिक्षा र साथी सङ्गतको प्रभावका कारण ज्योतिष विद्या अध्ययन गर्न सकेनन् । बर्षो देखि पुस्तान्तरण हुँदै आएको ज्योतिष विद्या आफूमा आएर टुङ्गिन गएकोमा उनी दुःखी छन् । त्यसैले पनि होला आफूले परम्परालाई निरन्तरता दिन नसके पनि छोरालाई ज्योतिष विद्या अध्ययन गराइरहेका छन् ।

दरबार देखि सर्वसाधारण सम्म पाङको ज्योतिष विद्या बारे परिचित थिए । एक समय देशका विभिन्न जिल्लाबाट हुलकाहुल विद्यार्थीहरू आइपुग्ने पाङ अहिले भने सुनसान जस्तै छ । आधुनिकता सँगै युवाहरूको रुचि पनि बदलिसकेका छन् । पुस्त पुस्ता देखि चल्दै आएको परम्परा तथा संस्कृति अब पुस्तान्तरण नहुने हो कि भन्ने चिन्ता पनि उतिकै छ । लोप हुँदै जान लागेको ज्योतिष विद्यालाई संरक्षण र प्रवर्द्धन गर्न यस ठाउँमा गुरुकुलको स्थापना गर्नुपर्ने आवश्यक देखिन्छ ।
बाइट……..
शास्त्री,दोणराज उपाध्याय, पर्वत
ज्योतिष खगराज रिजाल, पर्वत 
मुक्तिराम रिजाल, ज्योतिष विद्या अध्ययनरत विद्यार्थी, पर्वत 
राम प्रसाद रिजाल,ज्योतिष खगराज रिजालका छोरा, पर्वत 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com