महेन्द्र जिसी
पर्वत ।अझै पनि बालविवाहका कारण २० वर्षभन्दा मुनिको उमेरमा आमा हुनेको कमी छैन। पहिलेको तुलनामा बालविवाह न्यून भए पनि यदाकदा २० वर्षभन्दा सानो उमेरमा नै आमा बनेकाहरू भेटिने गरेका छन्।२० वर्ष पुग्नुअघि नै हुने विवाह र आमा बन्ने क्रम शून्यमा झार्न पर्वतको मोदी गाउँपालिकाले भने ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसमा २० वर्ष पूरा भएपछि बच्चा जन्माएका आमा र उनीहरूका सन्तानको पोषणमा सुधार ल्याउन गाउँपालिकाले प्रति आमा २ हजार ५ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको छ। भत्ता पाउन उमेरको मापदण्डसहित कुनै पनि सरकारी जागिर नभएको, नियमित रूपमा ४ पटक गर्भ जाँच गराएको, सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने नियम राखिएको छ। यसो गर्नाले विपन्न परिवारका आमाको पोषणको अवस्था सुधार्न सकिने, प्रसवमा आमा र बच्चाको ज्यान जोखिममा नपर्नेलगायत फाइदा हुने भएकाले मापदण्ड पूरा गरेका आमाहरूलाई मात्र भत्ता दिने गरिएको गाउँपालिकाका उप प्रमुख सेती महतको भनाई छ ।
‘२५ सय भत्ता पाउन २० वर्ष उमेर पार गरेको, नियमित ४ पटक गर्भको जाँच गरेको, सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माएर प्रमाणपत्र लिएको र कुनै सरकारी सेवामा नरहेको भए भत्ता दिइन्छ,’ उनले भनिन, ‘यसो गर्दा भत्ताका लागि २० वर्षपछि विवाह गर्ने र आमा बन्ने, सरकारी सेवामा नरहेकालाई भत्ता दिँदा विपन्नले भत्ता पाउने, नियमित गर्भ परीक्षण गरेको हुनु पर्दा आमा र बच्चाको डेलिभरी टाइमको जोखिम कम भएर मातृ–शिशु मृत्युदरमा कमी आउने हुन्छ।’ ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने भनाइलाई आधार मानेर दुईभन्दा बढी सन्तान जन्माएको अवस्थामा भने यो कार्यक्रमले आमाहरूलाई सम्बोधन नगर्ने प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले बताए ।
२ वर्ष अघि सुरु गरिएको कार्यक्रमले गाउँपालिकाका धेरै आमाहरूको स्वास्थ्य अवस्थामा केही सुधार भएको गाउँपालिकाकी उपाध्यक्ष सेती महत बताउँछिन्। अघिल्लो आवमा ७० जना आमालाई २५ सयका दरले १ लाख ७५ हजार भत्ता बाँडिएको उनले बताइन्। चालू आवको हालसम्म १ सय २१ जनालाई ३ लाख भत्ता बाँडिएको जानकारी महतले दिइन्। गाउँपालिकाका मापदण्ड पूरा गर्नेको सङ्ख्या बढेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष भत्ता पाउनेको सङ्ख्या पनि बढेको छ ।

‘अघिल्लो आवमा ७० जनालाई भत्ता दिइएकोमा चालू आवको माघसम्म १ सय २१ पुगेका हुन । उपाध्यक्ष महतका अनुसार ८ ओटा वडा रहेको मोदी गाउँपालिकाका ५ ओटा वडामा बर्थिन सेन्टर स्थापना गरिएकाले पनि गाउँमा नै प्रसूति सहज भएको छ। गाउँमा बर्थिन सेन्टर नहुँदा सम्पन्नहरू सहरका अस्पतालमा गएर बच्चा जन्माउने गरे पनि विपन्नहरूले घरमा नै सुत्केरी हुने गरेका थिए। यसबाट आमा र बच्चाको मृत्यु जोखिम बढाएको थियो।
गाउँमै बर्थिन सेन्टर बनेपछि त्यो अवस्था अन्त्य भएको हो । गाउँपालिकाका स्वास्थ्य शाखाका अनुसार चालू आवको माघसम्म भुकका ६ जना, देउपुरका १२ जना, देउरालीका १४ जना, क्याङका १६ जना, बाजुङका २१ जना, तिलहारका १६ जना, राम्जाका २० जना र चित्रेका १६ जना आमालाई यो भत्ता उपलब्ध गराइसकिएको छ।