पर्वत । छिमेकी जिल्ला बाग्लुङ, म्याग्दी र पोखरामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास नगरपालिकामा ११५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा ११० र पैयुँ गाउँपालिकामा ११० जनाको स्वाब सङ्कलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो । समुदायमा पुगेर स्वाब सङ्कलन गरिएका ९४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए।
पर्वतमा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट टेसिङका गरी जम्मा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १०३ उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिले छ सङ्क्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार ती सङ्क्रमितको भोलि सोमबार स्वाब सङ्कलन गरी पुनः परीक्षणका लागि पठाइने छ । उनीहरुमा कुनै लक्षण देखिएको छैन ।
पर्वतमा समुदायमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर निषेधाज्ञालाई कडा पारिएको छ । पछिल्लो एक सातादेखि सार्वजनिक सवारीका साधनहरु पूर्णरूपमा बन्द गरिएको छ भने जिल्ला भित्रिने सबै नाकाहरुमा सवारी जाँचमा कडाइ गरिएको छ । सदरमुकाम र पालिकास्तरमा समेत जनचेतनाका कार्यक्रमलाई प्रहरी र स्थानीय तहका कर्मचारीले निरन्तर प्रभावकारी बनाइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । रासस ।