शर्मिला भण्डारी
भदौको महिना छ टंटलापुर घाम । काठमाडौंमा पनि उफ् कस्तो गर्मि । बेला बेला वर्षा पनि भैरहेकै छ । वर्षा पछिको मौसम हेर्ने हो भने दशै दशैको झझल्को आउन थालिसकेको छ । तर मौसम र समय जे जस्तो भएपनि सबैको मन चिसो र धुम्म परेको अनुभुति भएको छ । सबैको मन पढ्न सक्ने क्षमता ममा त छैन तर पनि आफुले चिनजानकासंग म्यासेन्जर र फोन मार्फत नै कुराकानी गर्दाको अनुभुतिले सबैको मन धुम्म भएको म अनुभव गर्न सक्दछु ।
नेपालमा पहिलो पटक चैत्र ११ देखि लकडाउन सुरुभएपछि मैले एउटा लेख लेखेकी थिए जतिबेला कोरोना संक्रमितको संख्या जम्मा नौ जना थियो । त्यतिबेला दैनिक १ (२ जना कोरोना संक्रमित थपिँदा पनि हामी जिब्रो टोक्दै लौ बर्बाद भो भन्थ्यौं । अहिले फेरि नेपालमा कोरोना संक्रमितको संख्या बढेसंगै सरकारले दोस्रोपटक काठमाडौं लगायत देशका विभिन्न स्थानमा लकडाउन गरिरहेको छ । विभिन्न ठाउँ ठाउँमा स्थानिय सरकारले अवस्था हेरेर लकडाउन गरिरहेका छन् ।
देशैभरि संक्रमितको संख्या भुसको आगो सरि सल्किरहेको छ । जसमा अहिले उच्च जोखिममा काठमाडौं छ भनिएको छ । ३ महिनाको लकडाउनबाट आक्रान्त भएका सारा नेपाली लकडाउन खुलेसंगै केहि आशावादी हुदै गएका थिए । देशमा थोरै भएपनि आर्थीक तथा सामाजिक गतिविधि सुरु हुँदै थियो । तर, त्यो खुसि धेरै दिन टिक्न सकेन विस्तारै देशै भर कोरोना संक्रमित बढ्न थाले जुन डरलाग्दो बन्दै गयो । र परिणाम स्वरुप फेरि देश पुरानै ३ महिना तिर फर्किदे गयो ।
देशभर केहि प्रदेशहरुमा लकडाउन खुकुलो भएपनि देशको राजधानी भने यतिबेला ठप्प नै छ । विश्वभर फैलिएको कोरोनासंगै नेपाललाई त्यसले पारेको प्रभाव पनि ५ महिना भैसकेछ । यो ५ महिनामा आर्थिक तथा सामाजिक गतिविधी अड्कीएर बसेका छन् । संस्कृतीका धनि हामी नेपाली माझ आएका चाडवाड पनि घर भित्रै थुनिएर गए । यस बिचमा नेपाली नयाँ वर्ष , जनैपुर्णिमा तथा हिन्दु नारीहरुको महान चाड हरितालिका तिज आयो र त्यसै गयो पनि । देश नै संकटमा परेका बेला हुन त चाडवाडको के कुरा गर्नु ? तर पनि समय यति कठोर बनेर हाम्रा माझ खडा बनिदेला भन्ने कस्ले सोचेको थियो ? अहिले देशभरका अस्पतालहरु भरिभराउ छन् । दैनिक कोरोना संक्रमित हजारौको संख्यामा बढेका छन् ।

स्वास्थ्यकर्मीहरु दिनरात नभनी बिरामीको सेवामा लागेका छन् । हामी जस्ता सर्वसाधारणलाई सरकारले घरबाहिर ननिस्कनु भन्ने आदेश दिएको छ । गरिखाने वर्गहरु घर भित्रै छन् । विद्यालय जाने उमेरका बालबालिकाको भविष्य अन्यौलमय बन्दै गएकोछ । बालबालिकाले विद्यालय जाने तालिका नै भुलिसकेका छन् । सुन्दैछु काठमाण्डौंमा डेरा गरि व्यापार व्यवसाय गर्नेहरुले पनि आफ्नो व्यवसाय बन्द गर्ने सोच बनाएर सामान सारेका छन् । आखिर समस्या सबैको उहि व्यापार भए पो पैसा तिरेर भाडामा बस्नु व्यापार नै नभएपपछि भाडा तिरेर काठमाण्डौंमा कसरी टिक्नु ? साना साना खाजा पसल चलाएर बस्नेहरुको हालत के होला खोइ ? सम्झिदा पनि पिडा भएर आउछ ।
मेरै घरको वरिपरि पनि खाजा पसल चलाउने, तथा अन्य विभिन्न खालका पसलहरु भएका सटरहरुमा सटर भाडामा लेखेर टाँगिएका छन् । मनमनै सोच्छु सबैले आश मारेर व्यवसाय बन्द गरे होलान् सायद । आश पनि कसरी राखुन् लगभग ५ महिना नै भयो व्यापारले गति लिन नसकेको । कताबाट तिर्नु घरभाडा अनि सटर भाडा ।
हुनेहरुले त वर्षौ पनि थेग्लान तर नहुनेहरुले के गर्नु ? देशमा जनताको अवस्था कस्तो बन्दै गएको छ भन्ने उदाहरण हेर्नलाई अन्त कतै जानु पर्दैन काठमाण्डौंको टुडिखेलमा दैनिक सित्तैमा खाना खान लाइन लाग्नेहरुको भिड हेरे पुग्छ । दैनिक महलमा मासु पकाएर खानेहरुलाई के थाहा भोकको पिडा के हो ? सुन्दै दर्दनाक लाग्छ टुडिखेलमा एकछान बिहानको खाना खान आउनेहरु दैनिक ज्याला मजदुरी गर्नेहरु, असहाय , अपांग तथा अशक्त छन् । ति पनि भक्तपुर तथा ललितपुर देखि त्यहाँ सम्म पैदल आउँछन् बस एक छाक खानाका लागि ।
यतिबेला सायद सबैले महसुस गर्दैछन् देश संकटमा डुब्यो भने जनता कसरी प्रत्यक्ष प्रभावित हुन्छन् भनेर । सामान्य अवस्था हुदो हो त यतिबेला नेपालि हिन्दु नारीहरुले हरितालिका तिजलाई विदाई गरेको अवस्थासंगै देशभर दशै आउन लागेको रौनक सुरु भैसक्थ्यो । शहरमा विभिन्न कारणले बस्नेहरु दशैमा घर जाने योजना बुन्दै गरेका हुन्थे । व्यापार व्यवसाय चलाउनेहरु दशैलाई सिजनका रुपमा लिएर व्यवसायमा खटिएका देखिन्थे ।
नयाँ योजना बनाउनेहरु दशै पछि गर्ने सोचमा हुन्थे । तर यि सब कुरा सपना जस्तै भएका छन् यतिबेला कसैलाई थाहा छैन अवस्था कहिले सामान्य बन्ला ? कोरोना कहर कै बिचमा पनि देशमा राजनितीक किचलो उस्तै छ । राजनीतीलाई कोरोनाले टस को मस पारेको छैन । एकआपसमा आरोप प्रत्यारोप चलेकै छ । देश संकटमा परेका बेला सबै एकजुट भएर लाग्नु पर्नेमा संकटलाई पनि राजनितीकरण गरिएको छ । सुन्दै छु ठाउँ ठाउँमा विदेशबाट गाउँ पसेकाहरुलाई पार्टी प्रवेश गराइदैछ रे ।
हे भगवान यो कस्तो खालको राजनिती ? कोरोना संक्रमण फैलिन नदिन हामीलार्ई भित्र थुनेर राखेको सरकारले ति गतिवीधी चाँही देख्दैन ? कि देखेर पनि नदेखे जस्तो गरेको ? ठाउँ ठाउँमा यसरी पार्टी प्रवेशका लागि गरिने कार्यक्रममा हुने भिडलाई कोरोना सर्दैन हो ? साच्चै लाग्न थाल्यो राजनिती भनेको फोहोरी खेल नै रहेछ । यस्तो अवस्थामा पनि पार्टी कार्यकर्ता बढाउन लालायित छ्या । उता देशको मुख्य केन्द्र मै बस्ने भेडाहरुको भिडले स्वास्थ्यकर्मीहरुलाई गरेको दुव्र्यवहार सुन्दा रगत तातेर आयो । यसले हामी सारा नेपालीको चेतनाको स्तर कहाँ छ भन्ने प्रतिनिधित्व गर्छ ।
राजधानीमा मात्रै होइन देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरु माथि दुव्र्यवहार भएका समाचार आइरहेका छन् । हामी जनता पनि कतिसम्म स्वार्थी रहेछौं भन्ने यसबाट थाहा हुन्छ । अन्य बेला तिनै स्वास्थ्यकर्मी आफ्ना घर वरपर भएको गर्व गर्दै केहि पर्यो भने नाता जोडि जोडि सेवा लिन जाने हामी यस्तो संकटका बेला भने आफ्नो टोलबाट हटाउन जुलुस गर्ने । अन्य देशहरुमा हेरौ ति स्वास्थ्यकर्मीहरुको हौसला बढाउन जनताहरुले विभिन्न कार्यक्रमहरु गरिरहेको छन् ।
हाम्रो देशमा स्वास्थ्यकर्मी माथी भएको दुव्र्यवहारको समाचार पढ्दा के भन्दा हुन् ? एकपटक सोचौ त ति स्वास्थ्यकर्मीहरुले सेवा बन्द गरेर बसे यो बेला हाम्रो अवस्था के होला ? देश यतिबेला संकटमा छ । हामी सबै संकटमा छौं । देश संकटमा भएका बेला जस्ले जहाँबाट जे सकिन्छ त्यो सहयोग गर्नु एक असल नागरिकको दायित्व भित्र पर्दछ । त्यसैले यो संकटको घडिलाई आ आफ्नो स्थानबाट सामना गरौ । संकट छिटै टरेर जानेछ कामना गरौं । समाचार दैनिक