Home पत्रपत्रिका कोरोना संकट : सामुदायिकमा गाभिन थाले निजी विद्यालय

कोरोना संकट : सामुदायिकमा गाभिन थाले निजी विद्यालय

by ईलालटिन
0 comment

श्याम राई
काठमाडौं
। चैतदेखि देशभरका विद्यालय र विश्वविद्यालयमा शैक्षिक गतिविधि ठप्पप्राय: छ। कोरोना महामारीका कारण सामुदायिक विद्यालय भन्दा निजी विद्यालय अहिले आर्थिक मारमा परेका छन्‌। शिक्षकहरु कामविहिन छन्‌, धेरै अभिभावकले फेरि महंगो शुल्क तिरेर निजीमै स्कुलमै विद्यार्थी भर्ना गर्नुको सट्टा सामुदायिक विद्यालयमै पढाउने मनस्थिति बनाइरहेका छन्‌।

यसैबीच, संकटमा परेका निजी विद्यालय सरकारले ‘सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ जारी गरेसँगै धमाधम सामुदायिक विद्यालयमा गाभिन (मर्ज हुन) थालेका छन्‌। ​सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५ को बाडेगाउँस्थित सरस्वती इङ्ग्लिस स्कुल यही शैक्षिक सत्रबाट स्थानीय जनसुधार आधारभूत विद्यालयमा गाभिने भएको छ।

सरस्वती इङ्ग्लिस स्कुलका प्रिन्सिपल बुद्धि आचार्यले जनसुधार आधारभूत विद्यालयमा गाभ्ने निर्णय गरिसकेको जानकारी दिए। ‘कोरोना महामारीले स्कुल सञ्चालन गर्न नसक्ने स्थिति आएपछि जनसुधार आधारभूत विद्यालयमा गाभ्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘यही शैक्षिक सत्रबाट गाभिने छ। धेरैजसो विद्यार्थी शहरतिर छिरे। विद्यार्थी संख्या घटेकाले पनि यस्तो निर्णय गरेका हौँ।’ सामुदायिक विद्यालय सुधारका लागि पनि स्कुल गाभिएको उनको भनाई छ। उनका अनुसार सरस्वती इङ्ग्लिस स्कुलका एक सय विद्यार्थी अब जनसुधार आधारभूत विद्यालयमा पढ्नेछन्‌।

सिन्धुपाल्चोककै साँगाचोकगढी नगरपालिका-५ स्थित एकता हाइस्कुल पनि यसै शैक्षिक सत्रदेखि स्थानीय श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा गाभिने भएको छ। सो स्कुलका प्रिन्सिपल रविन श्रेष्ठले यही शैक्षिक सत्रदेखि रत्नगंगा माध्यमिक विद्यालयमा गाभ्ने निर्णय भैसकेको बताए। उनले भने, ‘कोरोना महामारीले लामो समयदेखि स्कुल बन्द भयो। आर्थिक अभाव भयो। सरकारले स्कुल गाभ्ने कार्यविधि जारी गरेसँगै यस्तो निर्णय लिएका हौँ। नगरपालिकाले यो प्रस्ताव स्वीकृत गरिसकेको छ।’ उनका अनुसार स्कुलमा तीन सय ५० जना विद्यार्थी छन्। अब उनीहरु रत्नगंगा माध्यमिक विद्यालयमा पढ्न जानेछन्‌।

कार्यविधिमा रहेको प्रोत्साहन अनुदान वितरण व्यवस्थापनसम्बन्धी व्यवस्था अनुसार सार्वजनिक र निजी लगानीको विद्यालय समायोजन एवम् एकीकरण भएमा र आधारभूत तहको कक्षा ५ सम्म संचालित संस्थागत विद्यालय सार्वजनिक विद्यालयमा समायोजन भएमा २० लाख रुपैयाँ प्रोत्साहन रकम पाउनेछन्‌। आधारभूत तहको कक्षा ८ सम्म संचालित संस्थागत विद्यालय सार्वजनिक विद्यालयमा समायोजन भएमा ३० लाख रुपैयाँ प्रोत्साहन रकम पाउनेछन्‌। त्यस्तै, माध्यमिक तहसम्म संचालित संस्थागत विद्यालय सार्वजनिक विद्यालयमा समायोजन भएमा ५० लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ।

गाभिएपछि उक्त विद्यालयमा रहेका फर्निचर, पाठ्यसामग्री लगायतका अन्य शैक्षिक सामग्रीहरुको अभिलेख गाभिएको विद्यालयको नाममा जिन्सी खातामा दाखिला गर्नुपर्नेछ। ‘दुई वा दुई भन्दा बढी विद्यालय आपसमा समायोजन भई विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा विद्यालय सञ्चालन हुनुपर्ने छ,’ कार्यविधिमा लेखिएको छ, ‘यसरी गाभिएका विद्यालयमा स्थानीय तहबाट विद्यार्थी संख्याको अनुपातमा विषयगत शिक्षकको व्यवस्था गरेको हुनुपर्ने छ।’

कार्यविधिको अनुगमन तथा प्रतिवेदन सम्बन्धी व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहबाट अनुगमन टोली बनाई समायोजन भएका विद्यालयहरूको अनुगमन गरी मन्त्रालयलाई आवश्यक सुझाव उपलब्ध गराउनुपर्ने र स्थानीय तहले समायोजन भएको विद्यालयको प्रगति विवरण वार्षिक रुपमा केन्द्र र प्रदेशस्थित शिक्षा हेर्ने मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था उल्लेख छ। ३० प्रतिशत निजी विद्यालय बन्द हुने अवस्थामा कोरोना महामारीकै कारण देशभरका ३० प्रतिशत निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी बताउँछन्।

‘कति विद्यालय सामुदायिक विद्यालयमा गाभिन्छन्, थाहा छैन,’ उनले भने, ‘कोरोना महामारीका कारण ३० प्रतिशत विद्यालय बन्द हुने अवस्थामा छ।’ उनका अनुसार सरकारले संकटमा परेका निजी विद्यालयलाई कुनै सहयोग गरेको छैन। आर्थिक अभावकै कारण अब एक हजार निजी विद्यालयमध्ये तीन सय विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ। थाहा खबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com