Home विशेष पर्वतमै पहिलो व्यावसायिक ‘ड्रागन फ्रुट’ खेती

पर्वतमै पहिलो व्यावसायिक ‘ड्रागन फ्रुट’ खेती

by ईलालटिन
0 comment

पर्वत । कुस्मा–ज्ञादी अग्लो झोलुङ्गे पुल देखि २ मिनेटको दुरीमा जिल्लामै पहिलो व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीको सुरुवात गरिएको छ । कृषक डिल्ली प्रसाद लामिछानेले कुस्मा नगरपालिका ९ ज्ञादीमा तीन सय वटा पिलरमा १२ सय ‘ड्रागन फ्रुट’को बिरुवा रोपेका हुन् ।

पर्वतमा धेरैका लागि ‘ड्रागन फ्रुट’ खेती अनौठो र नौलो मानिन्छ । लामिछानेका छोरा प्रदीप लामिछाने काठमाडौँ नोकरी गर्छन् । उनले नेपालका विभिन्न स्थानमा गरिएको ‘ड्रागन फ्रुट’को खेतीका बारेमा युट्युबमा देखे । नजिकका साथीभाइहरू सँग यस फलका बारेमा जानकारी पनि लिए । पर्वतमा पनि यस खेती गर्नुपर्छ भन्ने सोच बनाएर पिता सँग घर सल्लाह गरी ‘ड्रागन फ्रुट’को बिरुवा काठमाडौँ बाट पर्वत लिएर आए ।

अहिले ५ रोपनी जमिनमा ३ सय वटा पिलर बनाइएको छ । एउटा पिलर बराबर ४  बिरुवाको दरले ३ सय पिलरमा १२ सय वटा बिरुवा लगाइएको छ । केही समयपछि बिरुवाहरू थप गर्ने लामिछानेले बताए । ‘हामी सँग जम्मा १३ रोपनी जग्गा छ, २ सय पिलर थपेर ८ सय बिरुवा लगाउने चरणमा छौँ’,उनले भने,‘अरू बाँकी जमिनमा चाहिँ घाँस र केरा खेती गर्ने छौँ ।’ लामिछानेले ५ रोपनी बाहेकको जमिन चाहिँ भाडामा लिएका हुन् ।

लामिछाने नजिकै कटुवाचौपारी स्वास्थ्य चौकीका कार्यालय सहयोगी हुन् । बिहान उठेर दूध लिएर सदरमुकाम कुस्मा धाउँछन् । फर्केर थोरै समय  ड्रागनको स्याहारमा लाग्छन् । कार्यालय १० बजे खोल्नुपर्ने भएकाले ९ बजेर ३० मिनेटमा घरबाट हिँड्छन् । उनलाई श्रीमती गंगा लामिछानेले सघाउँदै आएकी छिन् । दिउँसभरी श्रीमतीले नै सबै घरधन्दा देखि खेतीपातीसम्म एक्लै गर्छिन् । कार्यालय समय सकिएपछि लामिछाने फेरि ड्रागनको हेरचाहमा खट्टिन्छन् । केही महिना देखि यो उनको दैनिकी नै बनेको छ ।

‘छोराले काठमाडौँ सानो नोकरी गर्छ, म पनि कार्यालय सहायकको काम गर्छु,’उनले भने, ‘सानो पदमा जागिर खाँदाको पीडा मैले बुझेको छु । छोराले पनि बुझेछ । आर्थिक स्थित सुधार्न जागिरले मात्र सम्भव नहुने भएरै ड्रागन फलको खेती गर्न लागेको हौँ ।’ पर्वतमा बिक्री गर्न मुस्किल भए पनि आफूहरूको उत्पादनले अन्य सहरमा सहजै बजार पाउनेमा लामिछाने ढुक्क छन् ।

प्रशस्त घाम लाग्ने र समुद्री सतह देखि १५ सय मिटरको उचाइको जमिनमा यस फलको खेती गर्न सकिन्छ । पानी जम्ने ठाउँमा यसको बिरुवा हुर्कन नसक्ने भएको हुँदा पानी नजम्ने ठाउँ उपयुक्त हुन्छ । ‘माटोको प्राविधिक जाँच त गरिएन १५ सय मिटरको उचाइ भएकोमा हुन्छ भन्ने छ, त्यसैले हामीले आँटेका हौँ ।’ लामिछानेले भने । उनको प्राविधिक चेकजाँचलाई लिएर अलिक फरक बुझाइ छ । उनका अनुसार ‘चेकजाँच गरेर खेती गर्छु भन्नेहरूले खेती नै गर्दैनन्, त्यो समयको बरबादी मात्र हो ।’

कृषि गर्छु भनेर राज्यबाट अनुदान लिएर ठग्नेहरूको बिगबिगी रहेको समाजमा लामिछाने चाहिँ अलिक फरक भेटिए । ‘मान्छेहरू खेती नगर्दै अनुदानको रकम खोज्दै हिँड्छन्, मलाई त्यस्तो ठिक लाग्दैन’, उनले भने,‘अनुदानका लागि काम गर्ने होइन, पहिले काम गर्ने हो, अनुदान भन्ने कुरा पछि लिए पनि हुन्छ ।’ अनुदानको पछि किसान दगुर्ने नभई किसानका पछि अनुदान दगुर्नु पर्नेमा लामिछानेले जोड दिए ।

गर्मी ठाउँमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइने हुँदा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको हुन्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इन्र्जी ड्रिङ्क, वाइन लगायतका पेय पर्दाथहरु बनाउन सकिन्छ ।

रोपेको २ वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । यस फलको नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म विक्री भइरहेको पाइन्छ । यसको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हुँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ । पछिल्लो समय यस फललाई गमला, छत तथा करेसामा पनि खेती गर्न थालिएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com