Home Social चितुवा बजार पसेपछि…

चितुवा बजार पसेपछि…

by ईलालटिन
0 comment

पर्वत। पर्वतको कुश्मा बजारमा आज बिहानै चितुवा देखा प¥र्यो । चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासीहरु “बाघ आयो रे बाघ” भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका–४ भण्डारी टोलमा पुगे ।

पहिले बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भिड् देखेपछि भाग्नलाई बाटो खोज्यो । र, त्यसपछि छेउमा अवस्थित ओम बहादुर रेग्मीको पहेँलो घरको भान्छा कोठामा पस्यो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारी तैनाथ भैसकेका थिए । घरका परिवारलाई बाहिर निकालेर प्रहरीले ढोकामा चापी लगायो ।

“करिब ३ घण्टामा चितुवालाई सकुशल नियन्त्रणमा लियौँ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी निरीक्षक प्रकाश राउतले भन्नुभयो, “कुनै पनि अप्रिय घटना हुन पाएन । पोखरा वन कार्यालयको उद्धार टोलीले चितुवालाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर पोखरा लगिसकेको छ ।” चितुवा हेर्न आउनेको भिड् हटाउन प्रहरीलाई मुस्किल परेको थियो ।

डिभिजन वन कार्यालय पर्वतमा चितुवा नियन्त्रण गर्न सक्ने विशेषज्ञ टोली र आवश्यक उपकरण नभएपछि कास्कीबाट आएको टोलीले चितुवा नियन्त्रणमा लिनु परेको थियो । “हामीले भेटनरी डाक्टर, वन अधिकृत र सशस्त्र वन रक्षक टोलीसहित वन्यजन्तु एम्बुलेन्स पठाएका थियौँ ।” वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले भन्नुभयो, “भान्छा कोठाको ढोकामा खोर राख्यौँ र छेउको झ्यालबाट जिस्काएपछि चितुवा खोरमा पस्यो । बेहोस नबनाईकनै सकुशल नियन्त्रणमा लिन सक्यौँ ।”

नियन्त्रित चितुवालाई प्राकृतिक वासस्थानमा नै छाडिने वन कार्यालय कास्कीका सहायक वन अधिकृत पराजुलीले जानकारी दिनुभयो । “भाले चितुवा भएको भए कास्की वन्यजन्तु उद्धार केन्द्र«मा राख्ने सोचेका थियौँ । तर, त्यो पोथी चितुवा रहेछ । हामी सँग पोथी चितुवा भएकै स्थितमा फेरि अर्को पोथी चितुवालाई साथमै उद्धार केन्द्र«मा राख्न सक्दैनौँ ।

चितुवाको कारण पर्वत सामाजिक सञ्जालमा चर्चित बन्ने गरेको छ । डेढ वर्ष अघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । दुई हप्ता अघि पनि फलेवासमा मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । तर, चितुवा जिउँदो नभएर मरिसकेको स्थित थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com