Home Social खरेहाको ज्येष्ठ नागरिक भवन निर्माणमा ढिलासुस्ती 

खरेहाको ज्येष्ठ नागरिक भवन निर्माणमा ढिलासुस्ती 

by ईलालटिन
0 comment

पर्वत । कुश्मा नगपालिका–७ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन चार वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरबाही र भवन निर्माणमा छुट्टाइएको रकम समयमा खर्च नहुँदा निर्माणमा ढिलाइ भएको हो ।

ज्येष्ठ नागरिकहरू एक ठाउँमा जम्मा भएर मनका कुराहरू साटासाट गर्न सकुन् भन्ने उद्देश्यले भवन निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन समाजको भनाई छ । ४ करोड ३४ लाख ९० हजार रुपैयाँ लागतमा निर्माणाधीन भवनको एक तला, त्यो पनि ढलान र पिलर उठाउने काम मात्र सम्पन्न भएको छ ।

“पहिलो वर्ष १ करोड ४० लाख रकम विनियोजन भएकोमा काम चाहिँ ८२ लाखको भयो । त्यस पछिको वर्षमा बजेट परेन । पोहोर चाहिँ बजेट परेर काम भयो तर, ठेकेदारले बरबादै खेलायो । काममा आउँदै नआउने, काम पनि रफ गर्ने, लापरबाहीको त हदै भयो ।”, समाजका कोषाध्यक्ष डिल्लीराम शर्माले भन्नुभयो, “यस वर्ष थप बजेट परेर टेन्डर पनि भइसकेको छ । नयाँ ठेकेदारले पनि राम्ररी काम गर्लान् जस्तो लागेको छैन । केही दिन अघि पाँगो बालुवा झारेको देखेपछि ठेकेदारलाई फोन गरेको उनले केही हुन्न चल्छ भन्ने जवाफ फर्काए ।”

२०७८।७९ मा नेपाल सरकारको विशेष अनुदान १ करोड ६६ लाख बजेटमा बोलपत्रदाता मल्ल कन्ट्रक्सनले ३३.८२ प्रतिशत कम कबोल गरी १ करोड १५ लाख ७३ हजार ४ सय २६ रुपैयाँमा कुश्मा नगरपालिका सँग सम्झौता गरेका थियो । “मल्ल कन्ट्रक्सनले सम्झौता अनुसारको काम गर्न सकेन । निर्माण समितिका मान्छेहरूबाट पनि गुनासाहरू धेरै आयो । उहाँहरू डेलिगेसन पनि आउनुभएको थियो ।”, नगरपालिकाका इन्जिनियर शिवराज बरालले भन्नुभयो, “२०७९ कात्तिक मसान्तसम्ममा मल्ल कन्स्ट्रक्सनलाई ३४ लाख २४ हजार ८ सयको रनिङ विल भुक्तानी ग¥यौँ ।”

दुई तलाको ३ सय २७ वर्ग फिटमा निर्माणाधीन भवनको काम सम्पन्न नहुनुमा  कुश्मा नगरपालिका पनि दोषी रहेको वडा–३ का पूर्व वडा अध्यक्ष सुवास  पौडेलले बताउनुभयो । “यस आर्थिक वर्षमा नयाँ बजेट पनि आइसकेको अवस्थामा कुश्मा नगरपालिकाले अहिले फागुनमा आएर टेन्डर निकालेको छ । गत वर्षको काम कात्तिक मसान्तमा सम्पन्न भएपछि मङ्सिर मसान्त भित्रै नयाँ टेन्डर निकालेको भए काम अघि बढी सक्थ्यो ।”, उहाँले भन्नुभयो, “अब असार आइपुग्न चार महिना छ । यस अवधिमा के नै काम होला र ? यसपालि पनि बजेट फ्रिज जाने निश्चित छ ।”

नेपाल सरकारले भवन निर्माणका लागि यस वर्ष पनि १ करोड ८० लाख रुपैयाँको बजेट छुट्टाएको छ । टेन्डर आह्वानका काम सकेर ठेक्का पनि लागिसकेको कुश्मा नगरपालिकाका सूचना अधिकारी धुब्रराज पौडेलले बताउनुभयो । उहाँका अनुसार २३.९७ प्रतिशत कम भएको बोलपत्र दाता वास्तु विलडर्सलाई ठेक्का परेर काम गर्न सुरुवात गरिसकेको छ ।

ज्येष्ठ नागरिकको भवन निर्माणलाई लिएर स्थानीयहरूमा असन्तुष्टि देखिन्छ । राज्यको करोडौँ लगानी खर्च गरेर बनाउने भवनको उपयोगिता नदेखिएको स्थानीय भवानी प्रसाद शर्माले बताउनुभयो । “त्यो जोखिमपूर्ण डिलमा भवन बनाउने कुरा प्राविधिक हिसाबले उचित छैन । जुनै बेला पनि भत्कन सक्ने जोखिम रहेको छ ।”, उहाँले भन्नुभयो, “वृद्ध आश्रम भएको भए ठिकै हो भन्न पनि हुन्थ्यो तर, दिनमा मात्रै त्यहाँ गएर गफै गर्नलाई त हाम्रै छेउछाउमा चौतारी, मठमन्दिरहरू प्रशस्तै छन् । राज्यको रकमको दुरुपयोग किन ?”

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com