पर्वत । टिकट पाउने दौडमा रहेका एमाले नेता विकास लम्साललाई प्रतिद्वन्द्वी पदम गिरीले उछिनेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लम्साललाई पाखा लगाउँदै गिरीले टिकट हात पारेका हुन् ।
पदम गिरीले गएको चुनावमा नेपाली काँग्रेसका नेता अर्जुन प्रसाद जोशीलाई पराजित गरेर प्रतिनिधि सभाको सांसद बनेका थिए । अहिले उनै गिरीले फेरि टिकट ल्याउन सफल भएका छन् ।
प्रदेश सांसद देखि मन्त्री भइसकेका एमाले नेता विकास लम्सालले केही दिन अघिसम्म पनि आफूले प्रतिनिधि सभाको टिकट ल्याउने दाबी गर्दै आएका थिए । एक महिना अघि हामी सँगको अन्तरवार्तामा उनले प्रदेश सांसदमा नलड्ने तर सङ्घीय चुनावमा चाहिँ यसपालि पार्टीले आफूलाई टिकट दिनेमा विश्वस्त देखिन्थे ।
यस्तै प्रदेशसभा (क) मा भक्त कुँवर र (ख) मा मित्रलाल बस्यालले टिकट पाएका छन् ।
