गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसाल सहित २९ जनाको समूहले २०७२ सालमा नमुना बाख्रा फार्म सञ्चालन ल्याएका थिए । व्यावसायिक कृषि तथा व्यापार आयोजनाको (प्याक्ट) ७० लाख रुपैयाँ अनुदान रकमबाट भौतिक संरचनाहरू निर्माण गरिएको थियो ।
२ सय ३२ रोपनी जग्गामा बाख्रा पाल्नका लागि चाहिने आवश्यक संरचनाहरू बनेका छन् । पाँच सय माउ बाख्रा पाल्ने गरी पिलर सहितको २५ मिटर लम्बाई र २५ मिटर चौडाइको तीन वटा खोर र तीन वटा घाँस खुवाउने ठाउँको निर्माण गरिएको छ ।
“इश्वरी सरलाई सञ्चालक र व्यवस्थापक बनाएर काम गरेका थियौँ, पछि उहाँलाई राजनीति लाग्यो, वडा अध्यक्ष हुनभयो, अहिले त झनै गाउँपालिका अध्यक्ष बन्नुभयो, उहाँकै कारणले कम्पनी डामाडोल भयो ।”, पैयुँ बरल्याङ बहुउद्देश्यीय कृषि फार्म प्रा.लि.का अध्यक्ष रुद« बहादुर क्षेत्रीले भन्नुभयो, “पाँच जना कर्मचारी राखेका थियौँ, उनीहरूले पनि काम गरेनन् । अब बाख्रा फार्म सञ्चालन गर्न सकिन्न, भाउ पाए बेच्ने हो । मेरो मात्रै पाँच लाख परेका छ, न्यूनतम ५० हजार देखि १२ लाख सम्म सेयर रकम हालेको अवस्था छ ।”
गाउँमा बाख्रा फार्म सञ्चालन हुने भएपछि स्थानीयबासीहरु पनि खुसी भएका थिए । गाउँबाट युवाहरू पलायन भइरहेको अवस्थामा गाउँमै आधुनिक किसिमले पशुपालन गरिने भएपछि केही युवाहरूले रोजगार पाइने आशा समेत राखेका थिए । तर सञ्चालनमा आएको वर्ष दिनमा नै खोरमा राखिएका बाख्राहरू कम हुँदै गए । सरकारी अनुदान रकम प्राप्त गर्नका लागि मात्र खोरमा बाख्रा राखिएको गाउँलेहरूको आरोप छ ।
“अनुदानको रकम सदुपयोग गरेर युवाहरूलाई रोजगार देलान् भन्ने आशा थियो, त्यो पनि छाडियो ।”, स्थानीय सन्तोष भुसालले भन्नुभयो, “तल माथि दुई ठाउँमा टन्नै संरचनाहरू त बनाएका छन्, तर, झाडीले जानै नसकिने खण्डहर बनेको छ । पहिलो वर्ष बाख्रा खोरमा टन्नै राखिएको थियो, पछि घट्दै गयो । राज्यको रकम दुरुपयोग हुँदा पनि कारबाही त छाड्दिनुस् कहीँ कतैबाट अनुगमन समेत भएको पाइएन ।”
कृषकको जीवनस्तर उकास्न विश्व बैङ्कले सरकारलाई सहयोग उपलब्ध गराएपछि २०६६ देखि २०७५ सालसम्म प्याक्ट परियोजना सञ्चालन थियो । दातृ निकायको सहयोगमा सरकारले कृषकलाई अनुदान दिने गरी आयोजना सुरु भए पनि वास्तविक कृषक सम्म कार्यक्रम पुग्न सकेन । अन्त जस्तै महाशिलामा पनि राजनैतिक पहुँच र टाठाबाठाहरुले नै अनुदानको रकम दुरुपयोग गरेका हुन् ।
“सरकारले दिने अनुदान सहित २ करोड ३० लाख रुपैयाँको लागत अनुमान गरिएको परियोजनाबाट प्राप्त अनुदान बाहेक थप रकम ल्याउन सकेनौँ ।”, महाशीला गाउँपालिकाका अध्यक्ष तथा फर्मका मुख्य सञ्चालक ईश्वरीप्रसाद भुसालले भन्नुभयो, “जग्गा किन्न र भौतिक संरचना बनाउन सेयर सदस्यबाट उठेको ६३ लाख र सहकारीबाट ४० लाख रुपैयाँ ऋण लियौँ, ऋणमा डुबेपछि थप लगानी गर्न सकेनौँ ।”
महाशीला गाउँपालिकाका अध्यक्ष तथा फर्मका मुख्य सञ्चालक भुसाल एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ वडा अध्यक्ष हुँदै गाउँपालिका अध्यक्ष बन्नु भएको हो । अध्यक्षमा निर्वाचित भइसकेपछि असफल बनाउन केही व्यक्तिहरूले बाख्रा फार्म सँग जोडेर आफ्नो चरित्र हत्या गर्न खोजेको उहाँको बुझाई छ ।
“हाम्रो ७० र प्याकटको ३० प्रतिशतको सम्झौता भएको हो ।”, भुसालले भन्नुभयो, “पसलबाट सामान ल्याएको पैसा अझ तिर्न सकेका छैनौँ, कतै त, आफ्नै निजी जग्गा बेचेर ऋण तिरेको अवस्था पनि छ । अनुदान पाएको ७० लाखको भवन र सेयरबाट उठाएको ६३ लाखमा बनेको संरचना कति छ हेर्नुहोस्, त्यहाँ सदुपयोग भयो कि दुरुपयोग ?” उहाँको प्रश्न थियो ।