Home राजनीति दलको उम्मेदवार बन्ने पत्रकारलाई महासङ्घले धम्क्यायो मात्र, गर्न सकेन कारबाही

दलको उम्मेदवार बन्ने पत्रकारलाई महासङ्घले धम्क्यायो मात्र, गर्न सकेन कारबाही

by ईलालटिन
0 comment

काठमाडौँ । महासङ्घको कार्यकारी पदमा बसेर पनि प्रत्यक्ष राजनीतिमा संलग्न भएका पदाधिकारीहरूको सदस्यता खारेज हुनसक्ने नेपाल पत्रकार महासङ्घले चेतावनी दिएको छ। महासङ्घको महिला उपाध्यक्ष बाला अधिकारी लगायत प्रदेशदेखि जिल्ला तहका पदाधिकारीहरू नेपाली काँग्रेसको जारी अधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका छन्।

कार्यकारी पदमा रहेकाहरू काँग्रेसको विभिन्न तहको उम्मेदवार बने पनि महासङ्घ मौन रहेकोमा आलोचना बढेपछि महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत यस्ता गतिविधि महासङ्घको विधान विपरीत भएको भन्दै’ राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा सङ्गठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णय समेत गर्न सक्ने भन्दै चेतावनी दिएको हो।

महासङ्घको विधान अनुसार उम्मेदवार बनेका केही विजयी समेत भएकाहरूको सदस्यता खारेज गर्न सक्ने अधिकार रहे पनि महासङ्घले केवल चेतावनी मात्र दिएको हो। महासङ्घको मकवानपुरको दामन बैठकबाट पारित महासङ्घको तीन वर्षे कार्य योजनामा राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासघंका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासङ्घको विधान अनुसार मान्य नहुने भएकाले खारेज गरिने उल्लेख छ।

कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने उल्लेख गर्दै महासङ्घको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासङ्घको विधान र पत्रकारिताको विश्वव्यापी मूल्यमान्यता विरुद्धमा रहेको उल्लेख छ।

महासङ्घको विधान, पत्रकारिताको आचार संहिता तथा प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्दै महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यहरूले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्था तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासङ्घले आग्रह गरेको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com