काठमाडौं । रौतहटको सदरमुकाम गौरस्थित कारागारभित्रै एक कैदीबन्दीले झुन्डिएर आत्महत्या गरेको विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले छानबिन गरेको छ । सो घटनालाई लिएर स्थानीय जनप्रतिनिधिको टोलीले पनि स्थलगत अध्ययन गरी विभिन्न व्यक्तिसँग सोधपुछ गरेको छ । कारागारमा बन्दी जीवन बिताउँदै आएका लडाई साह गत बुधबार कारागारभित्रै झुण्डिएको अवस्थामा मृत फेला गरेका थिए । उनीमाथि अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रौतहटले २१ वर्षको जेल सजाय तोकेको थियो ।
२०७६ वैशाख ४ गतेदेखि कैदी जीवन बिताइरहेका उनले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएका थिए । देवाही गोनाही–७ निवासी साहले आत्महत्या गर्नुपर्ने कारण नरहेको भन्दै परिवारजनले घटनाको वास्तविकता बाहिर ल्याउन माग गरेपछि विभिन्न तहबाट अध्ययन तथा अनुसन्धान हुन थालेको हो । मृतकका परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला कारागार गौर कार्यालय अगाडि घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । मृतक साहकी श्रीमती सीमादेवी साहले कारागारका नाइकेहरूले आफ्नो पतिको हत्या गरेको आरोप लगाएकी छन् ।
घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुरको एक टोलीले कारागार निरीक्षण गर्दै कारागारका नाइके विक्की सिंह सहितका व्यक्तिसँग सोधपुछ गरेको छ । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, उपमेयर परनियादेवी पटेलसहित चार जना जनप्रतिनिधिले पनि घटनास्थलको निरीक्षण गरेका छन् ।कारागारमा कैदी बन्दीको मृत्युका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताए । पोष्टमार्टमको रिपोर्टपछि घटनाका बारेमा थप बताउन सकिने उनको भनाइ छ ।
यसैबीच नेकपा एमालेका नेता प्रभु साहले पनि उनको कथित आत्महत्यामा प्रश्न उठाएका छन । उनले घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेका छन् । -लडाई साहले बुधबार कारागारको शौचालयमा घाँटीमा गम्छाको पासो लगाई आत्महत्या गरेको कारागार प्रशासनको भनाइ छ । उनलाई २०७५ साल माघ २६ गते नाबालिग अपहरण गरेर भारत पु¥याएको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको थियो । रातोपाटी ।
