धनगढी । सुदूरपश्चिममा मंगलबार नेपाली सेनाका २१ सहित १०१ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नेपाली सेनाका २१ सहित ३१ जनामा संक्रमण देखिएको हो ।
डोटी अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले प्रयोगशालामा मंगलबार ७७ स्वाब नमुना परीक्षण गरिएकोमा सेना २१ सहित ३१ जनामा कोरोना संक्रमण देखिएको बताए । श्रेष्ठका अनुसार कोरोना संक्रमण देखिएका सबै सेना राजपुरमा कार्यरत छन् । अन्य संक्रमितमा डोटीको शिखर नगरपालिकाका २ जना र के आइसिंह गाउँपालिका वडा नम्बर ४ का १ जना तथा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ३ जना र सोही जिल्लाको रामारोशनका ४ जनामा पनि कोरोना देखिएको छ ।
यसैगरी डडेल्धुरा र धनगढी प्रयोगशालमा ७० जनामा कोरोना संक्रमण भएको छ । डडेल्धुरा प्रयोगशालामा ५६ तथा धनगढी प्रयोगशालामा १४ गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएका ५३५ स्वाब परीक्षणमा ५६ जनाको रिपोर्ट पोजिटिभ आएको प्रयोगशाला इन्चार्ज ईस्वरीप्रसाद भुषालले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेहरुमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका २ जना, बैतडीको पुचौंडी नगरपालिकाका १ जना, मेलौली नगरपालिकाका २ जना र शिगास गाउँपालिकाका ८ जना गरी १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, अछामको पञ्चदेवल बिनायक नगरपालिकाका ५ जना तथा बझाङको बिथ्थडचिर गाउँपालिकाका २ जना, बुगल नगरपालिकाका १४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना, केदारस्युँ गाउँपालिकाका १६ जना र थलारा गाउँपालिकाका ४ जना गरी ४३ जनामा कोरोना देखिएको छ ।
यसैगरी, धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली ११ र कञ्चनपुरका ३ गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६६ जनाको स्वाब परीक्षण भएकोमा ८ महिला र ६ पुरुष गरी १४ जनामा संक्रमण देखिएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना तथा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर ४ का तीन जना, वडा नम्बर ६, १२ र १९ का एक/एक जना, गोदावरी नगरपालिकाका चार र गौरीगंगा नगरपालिकाका एक जनामा पनि संक्रमण देखिएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या ५९०५ पुगेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य प्रशासन महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनका अनुसार कूल संक्रमितमध्ये पाँच हजारले कोरोना जितेर डिस्चार्ज भएका छन् भने ११ जनाको निधन भएको छ ।