Home समाचार प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

by ईलालटिन
0 comment

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्। मंगलबार बस्ने प्रदेशसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।  यसअघि आइतबार उनले प्रदेश सभा नियमावली अनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् । विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ। भागवण्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ। ‘विश्वासको मत लिएर मात्रै सरकार विस्तार गर्ने योजना छ,’ मुख्यमन्त्री राजेन्द्र राईले एकीकृत समाजवादीको बैठकमा शनिबार भनेका थिए ‘मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए। त्यसैले मन्त्रालय फुटाउने तयारी छ।’

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्। मुख्य विपक्षी  एमालेसँग  ४१ सांसद छन्। एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ।सोमबार पाँच दलले आफ्ना सबै सांसद भेला गरेर मंगलबारको प्रदेशसभा बैठकमा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेका छन्।

यसैबीच प्रदेश १ को सत्तारूढ पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ बनाएको छ। सोमबार विराटनगरमा आयोजित पाँच दलीय गठबन्धन बैठकले अन्य सबै दलका नेता रहने गरी कोइरालाको नेतृत्वमा संयन्त्र बनाएको हो।कांग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि  बनेको सत्ता गठबन्धनले जनाएको छ।न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन्। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com