दाङ । सल्यान बस दुर्घटनाका मृतक १२ जना सबैको सनाखत भएको छ। दुर्घटनामा परी दाङका सात जना र सल्यानका पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले दुर्घटनामा परी दस महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिए।
बस दुर्घटनामा दाङ, शान्तिनगर गाउँपालिका-८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर- ६ कोरबाङका ५ वर्षीय सुरज वली, बबई गाउँपालिका- ४ की ६० वर्षीया डुली रेउले, बबई-६ पञ्कुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही उपमहानगरपालिका-१० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, घोराही उपमहानगरपालिका-१० की ३६ वर्षीया रुपा केसीको मृत्यु भएको छ। शारदा नगरपालिका- १२ घर घई हाल दाङ, तुलसीपुर- ६ बस्ने ५३ वर्षीया पर्भा चलाउनेले पनि दुर्घटनामा ज्यान गुमाएकी छन्।
त्यस्तै सल्यानको शारदा नगरपालिका-२ की ६१ वर्षीया मीना डाँगी, शारदा-३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका- १ काभ्राकी २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका- २ का २९ वर्षीय तिलक वली, त्रिवेणी ४ की ९ वर्षीया सरिता बोहोराले ज्यान गुमाएका छन्।दुर्घटनामा घाइतेमध्ये केहीको सल्यानकै श्रीनगरमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि दाङ र बाँकेका अस्पतालमा रिफर गरिएको छ। केहीलाई हेलिकप्टरमार्फत काठमाडौं पनि पठाइएको छ। आइतबार दुर्घटना भएको उक्त बसमा तीस जना सवार थिए। थापका अनुसार चालक अहिलेसम्म सम्पर्कबिहीन छन्।
सडकको खराब अवस्था र तीव्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो।सेतोपाटी ।