दाङ । रोल्पामा लामो समयदेखि अवरूद्ध सडक खुलाउन बिष्फोटक पदार्थको प्रयोग गरिएको छ। सुनिलस्मृति गाउँपालिका वडा ७ अन्तर्गत सुलीचौर हुँदै प्यूठानको बिजुवार पुग्ने सुलीचौर–आरेस सडकखण्ड झन्डै वर्षदिनदेखि अवरूद्ध थियो।मंगलबारदेखि उक्त सडकखण्ड खुलाउन काम सुरू गरिएको छ। चट्टानसहित सडकमा खसेको ढिस्को नेपाली सेनाको प्राविधिक टोली प्रयोग गरी फुटाउन सुरू गरिएको प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले बताए।
‘माथिबाट पहाडको ढिस्को नै सडकमा खसेपछि वर्षदिनदेखि यो सडक अवरूद्ध छ। चट्टान फुटाउन बिष्फोटक पदार्थ प्रयोग गरिएको हो,’ उनले भने, ‘अब १५ दिनजति काम गर्दा सडक सुचारू गर्न सकिएला। सडक खुलाउन सुनिलस्मृति गाउँपालिकाबाट डोजर र ब्रेकरसमेत प्रयोग गरिएको छ। झन्डै २० मिटर लम्बाई र १५ मिटर चौडाई भएको ढिस्को सडकमा थुप्रेकोले त्यो हटाउन लागिएको हो। यो सडकखण्ड अवरूद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा छन्। सेतोपाटी ।