काठमाडौँः काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। शाक्यलाई कोरोनाको कुनै पनि लक्षण छैन। शाक्य होम आइसोलेसनमै छन्।
मेयर शाक्यका प्रेस संयोजक मोहन बास्तोलाका अनुसार शाक्यको शनिबार ग्रान्डी अस्पतालमा परीक्षण गरिएको थियो। आइतबार नतिजा आएको हो। शाक्यमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको पनि बास्तोलाले बताए।
शाक्य निषेधाज्ञा लागू भएयता विभिन्न बैठकहरुमा सहभागी हुँदै आएका थिए। संक्रमणको दर बढेसँगै उनको नेतृत्वमा रहेको उपत्यका नगर फोरमको बैठक बस्दै आएको थियो। निषेधाज्ञाको समयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुका साथै रक्षामन्त्रीसँग समेत उनको पछिल्लो पटक भेट भएको थियो।-पहिलोपोष्ट डटकमबाट