मिलान । युरोपेली मुलुक इटालीमा आइतबार एउटा निजी जहाज दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। द गार्डियनका अनुसार सिंगल इन्जिन भएको पिलाटस पिसी-१२ जहाज आइतबार दिउँसो मिलानको लिनाटे विमानस्थलबाट टेकअफ भएको केहीबेरमै एउटा भवनमा ठोक्किएको थियो। उक्त जहाजमा ६ यात्रु र २ चालक दलका सदस्य थिए। प्रत्यक्षदर्शीहरूले खाली भवनमा ठोक्किनुअघि नै जहाजमा आगो लागिसकेको बताएका छन्।
मिलानका अधिकारीहरूले दुर्घटना हुनुअघि पाइलटले खतराको कुनै सूचना नदिएको बताएका छन्।इटालीका सञ्चारमाध्यमहरूले जहाज दुर्घटनामा परी रोमानिया र इटालीका दुई धनाढ्य परिवारको मृत्यु भएको उल्लेख गरेका छन्। रोमानियाका सबैभन्दा धनीमध्येका एक ६८ वर्षीय डान पेट्रेस्क्यु, उनकी श्रीमती र छोराको मृत्यु भएको छ। साथै इटालीका व्यापारी फिलिपो नासिम्बेने, उनकी श्रीमती र उनीहरूको सानो बच्चाको पनि मृत्यु भएको समाचारमा जनाइएको छ। अधिकारीहरूका अनुसार उक्त जहाज ३० सेप्टेम्बरमा रोमानियाको बुचारेस्टबाट मिलान आएको थियो। त्यतिबेला जहाजमा कुनै समस्या देखिएको थिएन। सेतोपाटी ।