सुर्खेत । कालिकोटमा नेपाली काँग्रेसको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अम्म शाही चयन भएका छन् । संस्थापन पक्ष र इतरपक्षबीचको छलफलपछि शाहीलाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरिएको हो । उसो त कालिकोट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको गृहजिल्ला हो । पौडेल पक्षका उनको कालिकोटमा राम्रो छाप छ । सर्वसम्मत रुपमा नेतृत्व चयनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
जिल्ला सभापतिमा आकांक्षी एक नेताले रातोपाटीलाई भने, ‘हामीले गुट–उपगुटको राजनीतिभन्दा पनि नेपाली काँग्रेसलाई शुद्धीकरण गर्ने साझा प्रतिबद्धतासहित सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका हौं । कालिकोटमा सभापतिका लागि देउवा खेमाबाट दमनबहादुर शाहीको दाबेदारी थियो । यस्तै हिक्मत बिष्ट, मोतीराज बम, दानबहादुर बमको नाम पनि चर्चामा थियो । कालिबहादुर सहकारी र विष्टको समर्थनमा दमन शाही नै अगाडि आउने देखिएपछि अन्तिममा वृहत छलफलपछि पौडेल पक्षलाई जिल्ला नेतृत्व दिइएको हो ।
कालिकोटका युवा नेता दमन शाहीका अनुसार सभापति पद पाएको पौडेल पक्षले एउटा सचिव, एउटा उपसभापति र नौ जना महाधिवेशन प्रतिनिधि पाएको छ भने देउवा पक्षले बहुमत पदाधिकारी सहित १८ जना महाधिवेशन प्रतिनिधि पाएको छ । कार्यसमिति सदस्यहरुमा देउवा पक्षले ६० प्रतिशत र पौडेल पक्षले ४० प्रतिशत पाएको छ । यसअघि वडा र पालिकाको चुनाव पनि सर्वसम्मत सम्पन्न गरिएको थियो । रातोपाटी ।