Home विशेष जलजलाका ४४ विद्यालयलाई ५० लाखका ल्यापटप र प्रिन्टर वितरण

जलजलाका ४४ विद्यालयलाई ५० लाखका ल्यापटप र प्रिन्टर वितरण

by ईलालटिन
0 comment

पर्वत । जलजला गाउँपालिकाले गाउँपालिकाका सबै विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ। गाउँपालिकाभित्र रहेका ४४ वटा विद्यालयलाई उक्त सामग्री वितरण गरिएको हो।

गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार आधारभूत विद्यालय र कक्षा १२ सम्मका विद्यालयहरूको लागि आइसिटी उपकरणहरू सहयोग गरिएको हो।

‘शिक्षालाई गुणस्तर बनाउन सकियो भने देशका हरेक क्षेत्रमा गुणस्तर कायम हुन सक्छ भन्ने उद्देश्यले नै प्रविधिको प्रयोगलाई शिक्षणमा जोड्नका लागि गाउँपालिकाले यो लगानी गरेको हो’ उनले भने, ‘पहिलो चरणमा केही विद्यालयहरू छुटेकाले अहिले बाँकी रहेका विद्यालयहरूलाई पनि सामग्री दिएर पालिकाका सबै विद्यालयमा ल्यापटप र प्रिन्टर दिइएको छ।’

जलजलाभित्र रहेका आठ वटा माध्यमिक विद्यालयलाई थप एक एक ल्यापटप समेत दिइएकाले ७० हजार रुपैयाँका दरले ५२ वटा ल्यापटपका लागि ३६ लाख ४० हजार रुपैयाँ र ४४ वटा विद्यालयलाई ३१ हजार मूल्य परेका १३ लाख ६४ हजार रुपैयाँका फोटोकपी र स्क्यान सुविधासहितका प्रिन्टर प्रदान गरिएको छ। विद्यालयलाई संघीय सरकारले नै इन्टरनेटका लागि वार्षिक १२ हजार रुपैयाँ दिने भएका कारण हरेक विद्यालयले एकीकृत रूपमा विवरणहरू अद्यावधिक गराउन तथा शिक्षण सिकाइमा समेत प्रविधिको प्रयोग गर्नका लागि ठूलो लगानीमा ती सामग्री दिइएको हो।

विद्यालयका विवरणहरूलाई एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यसअगाडि नै गरिसकिएको भए पनि कम्प्युटरबाट गर्न सकिने अन्य कामबारे सिकाउन पुनः गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए।

‘सरहरूको मागअनुसार नै हरेक विद्यालयलाई ल्यापटप दिएका छौँ, अब अनुगमनमा त्यो छोपेर राखेको देख्न नपरोस्। आसा छ सबै सरहरूले अधिकतम प्रयोग गर्नुहुनेछ’ उनले भने, ‘हामी शिक्षामा बढी केन्द्रित छौँ, यही कारण उपकरण प्रदानदेखि भौतिक पूर्वाधार निर्माणका कामहरू पनि गरिरहेका छौँ।’

वडा नम्बर ९ बनौँको बनौँ माध्यमिक विद्यालयका शिक्षक ज्योतिन्द्र शर्माले आफूहरूले यसअगाडि नै गाउँपालिकाले पहिलो चरणमा बाँडेका उपकरणहरू लगेको बताउँदै स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज भएको बताउँछन्। इन्टरनेट र ल्यापटपको सुविधाका कारण विद्यालयमा प्रशासनिक कामहरू समेत अनलाइनमार्फत भइरहेको उनको भनाइ छ।

‘पछिल्लो समयमा विद्यालयका अरू कामहरू पनि अनलाइनबाट भइरहेका छन्’ शिक्षक शर्मा भन्छन्, ‘समयले एक शिक्षक एक ल्यापटप मागेको छ, तर कतिपय विद्यालयमा एउटा ल्यापटप समेत नभएको अवस्थामा गाउँपालिकाले यति धेरै लगानी गर्नु खुसीको कुरा हो।’ थाहाखबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com