Home समाचार रुकुम पश्चिममा खुकुरी हानाहानबाट घाइते भएका दुई जनालाई एउटै हेलिकप्टरमा लगियो अस्पताल

रुकुम पश्चिममा खुकुरी हानाहानबाट घाइते भएका दुई जनालाई एउटै हेलिकप्टरमा लगियो अस्पताल

by ईलालटिन
0 comment

दाङ । रुकुम पश्चिममा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई बिहीबार बिहान एउटै हेलिकप्टरमा राखेर उपचारका लागि सुर्खेत पुर्‍याएको छ। बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं. ३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहोरामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते तुल्याएको थियो।

 करिब तीन घन्टा पछि बेलुका सात बजेतिर सोही ठाउँको सल्लेरीका ६२ वर्षीय लक्षे कामीमाथि अर्को एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो। खुकुरी प्रहारबाट कामीको दुबै घुँडा र बायाँ पाखुरामा गहिरो घाउ लागेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार खुकुरी प्रहारबाट बोहोराको अनुहारलगायत बायाँ हत्केलामा गहिरो चोट लागेको छ।

शाहीले बोहोरोमाथि स्थानीय २४ वर्षीय गोपाल बिक, २१ वर्षीय बिष्णु कामी, २३ वर्षीय कृष्ण बिक र १८ वर्षीय महेन्द्र बिक लगायतले आक्रमण गरेको सेतोपाटीलाई बताए। त्यस्तै कामीमाथि खदीका २३ वर्षीय नेत्र बोहोरा, २२ वर्षीय बिरे भण्डारी र २२ वर्षकै शान्ते भण्डारीले आक्रमण गरेको शाहीले जानकारी दिए। घटनामा संलग्न दुबै पक्षका आरोपी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक शाहीले बताए।

सुरूमा पुरानो रिसइबीका कारण बोहोरोमाथि एक समूहले आक्रमण गरेको देखिन्छ,’ शाहीले भने, ‘त्यसपछि आक्रोशित बोहोरा पक्षले फेरि कामीमाथि खुकुरी हानेको अवस्था छ। घटनापछि बुधबार बेलुका नै घाइतेलाई थप उपचारका लागि बाहिरी जिल्ला लैजान हेलिकप्टर मागिएको भए पनि मौसमका कारण अवतरण हुन नसकेपछि उद्धार असम्भव भएको थियो। बिहीबार बिहान करिब पौने आठ बजेतिर हेलिकोप्टर आएपछि दुबै घाइतेलाई एउटै हेलिकप्टरमा राखेर उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको प्रहरी निरीक्षक शाहीले बताए।

‘खदीमा तली गाउँ र माथि गाउँ भन्ने छ। तली गाउँमा बोहोरा समुदायको बाहुल्यता छ र माथि गाउँमा कामी समुदायको,’ शाहीले भने, ‘उनीहरूको बीचमा सधैँ यस्तै विवाद  र लफडा भइरहन्छ। एकले अर्कौलाई भेटे हानाहान चलिरहन्छ।’ यी दुई गाउँका मानिसले अर्को गाउँकालाई एक्लै फेला पार्ना साथ आक्रमण गर्ने गरेको शाहीले बताए।‘यी दुई गाउँबीचको विवादको चुरो हेर्दा धेरै पुरानो देखिन्छ। त्यो पानीको मुहानको विषयसम्म पुग्छ,’ प्रहरी निरीक्षक शाहीले भने। घटनास्थल अस्थायी प्रहरी पोष्ट स्यालाखादीबाट ३० मिनेट पैदल दूरीमा पर्ने र घटनामा संलग्नको खोजीको लागि प्रहरी सहायक निरीक्षक सनत न्यौपानेको कमाण्डमा बिहीबार बिहान चार जनाको टोली खटाइएको शाहीले जानकारी दिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com