गोरखा । गोरखामा प्रहरीको सिआइडी हौं भन्दै मालबहाक ट्रक रोकेर लुटपाट गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिइएको छ।जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार नक्कली सिआइडी बनेर ट्रकमा रहेका सामानमा क्षति पुर्याउने र सहचालकको मोबाइल खोस्नेलाई नियन्त्रणमा लिइएको छ।
छ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सोमबार राति उनीहरूले आँबुखैरेनीबाट गोरखातर्फ आइरहेको ना ६ त ४५६ र ना ६ ख ५५०२ नम्बरको मालबाहक ट्रकलाई सडकमै रोकेर चेकजाँच गरेका थिए। ती युवाहरूले सहचालकको मोबाइल खोसेका थिए। ट्रकमा रहेका सामानहरू पनि क्षति पुर्याएका छन्। राति २ बजे उनीहरूले १२ किलो भन्ने ठाउँमा ट्रक रोकेका थिए। उक्त घटनाको जानकारी पछि प्रहरीले गोरखा नगरपालिका वडा नम्बर ११ का छ जना युवालाई नियन्त्रणमा लिएको छ।
२१ वर्षका निरज कोइराला, २० वर्षका निरन्जन तामाङ, २० वर्षका ओमराज गुरुङ, १९ वर्षका सुरज तामाङ, मनोज तामाङ र रिकेश कुँवरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरूद्ध सार्वजनिक हितविरूद्ध कसुर अन्तर्गत मुद्दा दर्ता गरी १० दिनको म्यादसहित हिरासतमा राखेर अनुसन्धान गरिएको छ। सेतोपाटी ।