काठमाडौं । नेपाली कांग्रेसको सर्लाही क्षेत्र नम्बर ४ ले प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहमाथि दुर्व्यवहार भएको भन्दै कारबाहीको मागसहित ज्ञापन पत्र बुझाएको छ।
केन्द्रीय कार्यालय सानेपामा आज मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले असोज ५ मा मन्त्री सिंहमाथि सानेपास्थित कार्यालय परिसरमा दुर्व्यवहार भएको दाबी गरिएको छ। मन्त्रीमाथि सुनियोजित ढंगले सर्लाहीकै सांसद अमरेशकुमार सिंहको उक्साहटमा गालीगलौज र दुर्व्यवहार भएको दाबी ज्ञापत्र पत्रमा उल्लेख गरिएको छ।
असोज ५ गते अपरान्ह पार्टी कार्यालयमा क्रियाशील सदस्यताबारे प्रदेश २ का मन्त्री सिंह र सर्लाहीको बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोबीच भनाभन भएको थियो। साथै वडाध्यक्षलाई प्रदेश मन्त्रीले दुर्व्यवहार गरेको भन्दै आज पार्टी कार्यालयमा धर्नासमेत भएको थियो। उक्त घटनाका दुबै पक्षले आज पार्टी कार्यालयमा पुगेका थिए। सेतोपाटी ।