काठमाडौं । नेपाली कांग्रेसले मंगलबार सिन्धुपाल्चोकमा वडा अधिवेशन गर्ने भएको छ।क्रियाशील सदस्यतामा विवाद देखिएको सिन्धुपाल्चोकमा यसअगाडि वडा अधिवेशन हुन सकेको थिएन। भदौ १८ का लागि कांग्रेसले वडा अधिवेशन तोकेको थियो। विवाद समाधान गर्न बाँकी रहेका जिल्लामा असोज ५ का लागि वडा अधिवेशन तोकिएको थियो।
जसअनुसार कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति बैठकले जिल्लाभर वडा अधिवेशन मंगलबार गर्ने निर्णय गरेको छ। सभापति विकास लामाको अध्यक्षतामा बसेको बैठकले कार्यतालिकाअनुसार नै अधिवेशनहरू गर्ने निर्णय गरेको हो। सभापति लामाका अनुसार जिल्लाका एक सय ३ वडामा मंगलबार अधिवेशन हुनेछ। वडा अधिवेशन गर्न सबै वडामा निर्वाचन अधिकृत खटिइसकेको पनि उनले बताए।
सिन्धुपाल्चोकमा अन्य पार्टीबाट कांग्रेसमा आएकाहरूलाई समायोजन गरी दिइएका क्रियाशील सदस्यताबारे विवाद थियो। क्रियाशील सदस्यतामै विवाद देखिएपछि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रहेका कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेमाथि पनि सिन्धुपाल्चोकका नेता तथा कार्यकर्ताले आक्रमण गरेका थिए। घिमिरेमाथि आक्रमण गर्नेलाई कांग्रेस अनुशासन समितिले सचेत नै गराउनु परेको थियो। सेतोपाटी ।