Home बुलेट न्युज बालबालिकालाई कोरोना खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको छ: प्रधानमन्त्री

बालबालिकालाई कोरोना खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको छ: प्रधानमन्त्री

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन्। सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैय्याको व्यवस्था गरिएको बताए।

कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ। नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात गरेको छ। संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानूनहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले बताएका छन्।

नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३० पनि वर्ष पूरा भइसकेको छ। सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं राष्ट्रिय बालअधिकार परिषदमार्फत बालबालिकाको हक अधिकार संरक्षण तथा सम्वर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रदेश सरकार तथा स्थानीय सरकारहरूले बालअधिकार संरक्षण तथा सम्वर्द्धनका कार्यहरूलाई प्राथमिकताका साथ लागू गरिरहेका छन्।

प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन्। बालअधिकार संरक्षण तथा सम्वद्र्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले राष्ट्रिय बालदिवस २०७८ को अवसरमा सम्पूर्ण अभिभावक, सेवा प्रदायक व्यक्ति तथा निकायहरूलाई बालबालिकाको सर्वाङ्गीण विकासमा जिम्मेवार हुन अनुरोध गरेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com