काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मिडिया कभरेज जुटाउने निर्णय भन्दै सामाजिक सञ्जालमा प्रचारित डकुमेन्ट नक्कली भएको एमसीए–नेपालले दावी गरेको छ । यस्तो ‘फेक डकुमेन्ट’ले आफ्नो चरित्र हत्या भएको भन्दै वरिष्ठ पत्रकार एवं नागरिक अभियन्ता कनकमणि दीक्षितले प्रहरीसमक्ष उजुरी दिएका छन् ।
मिलेनियम च्यालेञ्ज कम्प्याक्ट नेपाल एकाउन्ट (एमसीए–नेपाल) को नेपालस्थित कार्यालयका प्रमुख कार्यकारी निर्देशक खड्गबहादुर विष्टको हस्ताक्षर कीर्ते गरी फेक प्रचार गरिएको एमसीए नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।एमसीए नेपालको विज्ञप्तिमा भनिएको छ, ‘मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भैरहेकोप्रति एमसीए नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सो डकुमेन्टमा एमसीए–नेपालका सीईओ खड्गबहादुर विष्टको हस्ताक्षर गलत तवरले प्रयोग गरिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ र यस्तो प्रचारको भ्रममा नपर्न भनिएको छ । विष्टको हस्ताक्षर प्रयोग गरेर सार्वजनिक गरिएको ‘फेक’ डकुमेन्टमा एमसीएको प्रचारका लागि नामै किटेर विभिन्न टेलिभिजन, पत्रपत्रिका, अनलाइन र विज्ञहरुलाई खटाइएको व्यहोरा उल्लेख थियो । यस्तो झूटा प्रचारले आफ्नो इज्जत र प्रतिष्ठामा आँच आएको भन्दै पत्रकार दीक्षितले दोषी पत्ता लगाई साइबर कानूनअनुसार कारवाही गर्न प्रहरीसमक्ष माग गरेका छन् । रातोपाटी ।