काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पराजित गरेको छ। दशरथ रंगशालामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गरेको हो। नेपालको जितमा दुवै गोल डेब्यू खेलाडीले गरे। खेलको १४ मिनेटमा सविता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।
उनले डिबक्सभित्रबाट हेडमार्फत गोल गरेकी थिइन्। खेलको २३ मिनेटमा अर्की डेब्यू खेलाडी प्रिती राईले नेपालको अग्रता दोब्बर पारेकी थिइन्। दोस्रो हाफमा बंगलादेशले गोल फर्कायो। बंगलादेशका लागि तौरा खातुनले गोल गर्न सफल भइन्। यो खेल नेपाली महिला टिमले दशरथ रंगशालामा खेलेको पहिलो खेल हो। सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि नेपालले दशरथ रंगशालामा खेल्ने अवसर पाएको थिएन। दशरथ रंगशालामा खेल्ने अवसर नेपाली महिला टिमले अन्तर्राष्ट्रिय खेल खेल्न थालेको ३५ वर्षपछि मात्र पायो।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो। एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्। नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ। यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ । सेतोपाटी ।