पर्वत । एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड बिहीबार साँझ सञ्चालनमा आएको छ। एक साता लामो प्रयासपछि एकतर्फी रूपमा मात्र बाटो खुलाउन सकिएको भए पनि सवारीको दोहोरो आवागमनका लागि भने अझै केही समय लाग्ने भएको छ।
भदौ १७ गते रातिको भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–५ को साढे ८ किलोमिटर सडकमा २० ठाउँमा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो।
मौसममा सुधार आएपछि भदौ १९ गतेदेखि मध्यपहाडीको पर्वतखण्डमा काम गरिरहेको लामा कन्स्ट्रक्सन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासबाट बिहीबार साँझ बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीले बताए।
‘क्षतविक्षत बनेको बाटोलाई एक साताको मिहिनेतपछि एकतर्फी खुलाइएको छ। लामा कन्स्ट्रक्सन, प्रहरी, सेना र सशस्त्रबाट खटिएको जनशक्तिले निकै मिहिनेत गरेर यति छिटो बाटो खुलाउन सकिएको हो,’ उनले भने, ‘बाटो सुरु भएपछि मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट बाहिरिने तथा भित्रिने सवारीहरू गन्तव्यतर्फ लागेका छन्।’
बाटो बन्द हुँदा साविकको धौलागिरिका चारै जिल्लाका सवारी छुटेका थिएनन् भने बाहिरबाट आएका सवारीसाधन जिल्लाको मोदी गाउँपालिका–५ पातिचौरमा रोकिएका थिए।
बाटो सञ्चालनमा ल्याउन लामा कन्स्ट्रक्सनले पहिरो खसेका विभिन्न ठाउँमा ७ वटा एक्स्काभेटर प्रयोग गरेको थियो। पहिरोसँगै खसेका विशाल ढुंगा हच्काउनसमेत नसक्दा सेनाले लगातार ३ दिनसम्म विस्फोटक पदार्थको प्रयोग गरेर ढुंगा फुटाएपछि बाटो खोल्न सकिएको हो। थाहाखबर