काठमाडौं । बागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। उनले आज बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर मन्त्री पदबाट राजीनामा दिएका हुन्। आफूूले मन्त्री पदबाट राजीनामा दिएको शर्माले सेतोपाटीलाई बताए।
‘हिजो अष्ट कमरेडलाई मुख्यमन्त्री बनाउनु पर्छ भनेर म लागेकै हो। तर अहिले हाम्रो दल र विचारधारा फरक भएकाले उहाँको मन्त्रिमण्डलमा बसिरहन सकिनँ,’ शर्माले भने। शर्माले मंगलबार नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) मा उनी केन्द्रीय सदस्य छन्।
शाक्य मुख्यमन्त्री बनेलगत्तै शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन्। शर्मा पहिलेदेखि नै नेपाल पक्षमा थिए। मंगलबार बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए। १२ जना सांसदले नयाँ दल रोजेसँगै नेकपा एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन्। सेतोपाटी ।