Home समाचार कञ्चनपुरको वनहरा नदीमा आएको बाढीका कारण पुल उच्च जोखिममा

कञ्चनपुरको वनहरा नदीमा आएको बाढीका कारण पुल उच्च जोखिममा

by ईलालटिन
0 comment

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल नदीको बाढीको उच्च जोखिममा परेको छ ।

पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर बग्न थालेपछि पुल जोखिममा परेको हो । नदीमा आएको बाढीको पानीले पुल क्षेत्र नजिकको जग्गा कटानको कार्य तीव्र बनाएको स्थानीय मङ्गलप्रसाद चौधरीले बताए ।
जग्गा कटान पुलसम्म पुग्न ३० मिटर पनि छैन्”, उनले भने, “पुलसम्म नै नदीले जग्गा कटान गरे पुल ढल्ने सम्भावना बढेर गएको छ ।” सम्बन्धित निकायमा यसबारे जानकारी गराई सकिएको भए पनि पुल जोगाउनका लागि कुनै पनि प्रयत्न हालसम्म नगरिदा निकै चिन्तित भएको उनले बताए ।
“पुल बगेमा यस क्षेत्रको आवागमन नै रोकिन्छ”, स्थानीय बालसुग्रिव रानाले भने, “चुरे क्षेत्र र तराई क्षेत्रमा लगातार पानी पर्ने क्रम जारी रहेकाले जग्गा कटानको कार्य रोकिएको छैन ।” पुल क्षेत्रसँगै जोडिएको स्थानीय बासिन्दाको झण्डै १० कठ्ठा बढी धान रोपेको उब्जाउ जग्गा यस वर्षको बाढीले बगाई बगरमा परिणत गरीसकेको छ । वनहरा र दोदा नदीको संगमस्थलमा पुल निर्माण गरिएको छ ।
सो क्षेत्रको जग्गा नदीको पानी घट्ने क्रममा बढी कटान गर्दै आएको छ । बलौटे दोमट जग्गा भएकाले थोरै नदीको बाढीले पनि कटानी गरी बगाउदै आएको छ । वडाध्यक्ष बाले रानाले पुलसँगै स्थानीय बासिन्दाको बाढीको पानीले जग्गा कटानी गर्दै आएको क्षेत्र जोगाउनका नगरपालिका कार्यालयमा जानकारी गराएको भए पनि सुनवाइ हुन नसकेको बताए ।

“नदीको बाढीले गर्दै आएको जग्गा कटानी रोक्नका लागि वडासँग बजेट नै छैन” उनले भने, “नगरपालिकाले चासो दिँदैन । प्रदेश सरकार संग बलियो तटबन्ध निर्माणका लागि अनुरोध गरेका छौँ तर सुनवाइ छैन ।” दुई तिरबाट नदीले घेरिएको बस्तीका बासिन्दालाई आवतजावतमा सहजता प्रदान गर्नका लागि दुई वर्ष अघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । तीन सय मिटर लम्बाइको पुल दुई करोड बढीको लागतमा निर्माण गरिएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com