तर आइपिओ पर्नेहरुले दोस्रो बजारमा बेच्दा भने राम्रो मूल्य कमाउने गरेका छन्। अझ लघुवित्त कम्पनीहरुको आइपिओ पर्नेले धेरै नै लाभ लिन सक्छन्। यसअघि महिला लघुवित्त र अहिले जीवन विकास लघुवित्तका सेयरधनी धेरै मूल्य पाउनेमा उदाहरण हुन्।
जीवन विकास लघुवित्तको १ हजार रुपैयाँको प्राथमिक सेयर (आइपिओ) पर्नेले दुई महिनामै ५० हजार नाफा कमाएका छन्। १ लाख ८४ हजार ७९६ जनाले करिब दुई महिनाअघि १० कित्ताका दरले सेयर पाएका थिए भने ५ जनाले ११ कित्ताका दरले पाएका थिए। प्रतिकित्ता १ सय रुपैयाँ मूल्यमा १० कित्ता पाउनेले जम्मा १ हजार रुपैयाँ तिरे। त्यही सेयर आज बिहीबार प्रतिकित्ता ५ हजार १९८ रुपैयाँ पुगेको छ।
१० कित्ता बेच्नेले कुल ५१ हजार ९८० रुपैयाँ कमाए। यसरी आएको नाफाबाट ७.५ प्रतिशत पुँजीगत लाभकर भने तिर्नुपर्छ। असार ११ गते कम्पनीको आइपिओ खुलेको थियो भने २३ गते बाँडफाँड गरिएको थियो। दुई महिना नपुग्दै कम्पनीको मूल्य बजारमा प्रतिकित्ता ५१९८ रुपैयाँ पुगेको हो। साउन १४ गतेबाट दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु भएको थियो।
कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो। दिन सो कम्पनीको जम्मा ९५ हजार २५७ रुपैयाँको १ सय कित्ता सेयर कारोबार भएको थियो। त्यसयता दैनिकजसो १० प्रतिशतले मूल्य बढ्दै आएको हो। कम्पनीको वित्तीय अवस्था पनि मजबुत नै छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनसार असार मसान्तसम्म प्रतिसेयर आम्दानी ११३ रुपैयाँ १३ पैसा छ। प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ छ। ६० करोड ८ लाख चुक्ता पुँजी रहँदा कम्पनीले गत आर्थिक वर्ष ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जगेडा कोषको आकार १ अर्ब ३० करोडको छ।

बिहीबार प्रतिकित्ता ५ हजार १९८ रुपैयाँमा किन्न खोज्नेले पनि सेयर पाएका छैनन्। तसर्थ वित्तीय स्थिति पनि राम्रो भएकाले अझै केही दिन कम्पनीको मूल्य बढ्न सक्नेछ। कम्पनीले कुल १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। मोरङको कटहरीमा प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छ। सेतोपाटी ।