क्रियाशील सदस्यतामा देखिएका विवाद मिलेपछि पूर्वमहामन्त्री सिटौलाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार बेलुकी करिब १० बजे प्रतिवेदन बुझाएका हुन्। गत साउन ३० मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पूर्वमहामन्त्री सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई क्रियाशीलमा देखिएका विवाद सहमतिमै टुंगोमा पुर्याउन जिम्मेवारी दिएअनुसार उनीहरूले काम गर्दै आएका थिए।
कांग्रेसले वडा अधिवेशन आउन ११ दिन बाँकी हुँदा क्रियाशील सदस्यता विवाद टुंगोमा पुर्याएको छ। भदौ १८ गते देशभरका छ हजार सात सय ४३ वडामा अधिवेशन हुँदैछ। वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्छन्।मुख्यगरी अरू पार्टीबाट कांग्रेसमा आएकाहरूलाई समायोजन गर्दाका विवाद क्रियाशील सदस्यता वितरणसम्म पनि देखिएको थियो। पुराना कांग्रेसभन्दा नयाँ प्रवेश गरेकाहरूले वडामा धेरै सदस्यता लिएको देखिएपछि विवाद हुँदै आएको थियो। साविक क्रियाशील सदस्यताभन्दा धेरै समायोजनमा आएकालाई नदिने गरी विवाद टुंग्याइएको स्रोतको भनाइ छ।
सभापति देउवाले अध्ययन गरी क्रियाशील विवरण निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछन्। पार्टीको निर्वाचन समितिले क्रियाशीलको विवरण जिल्ला-जिल्लामा पठाउने र अधिवेशनका लागि प्रतिनिधि तोक्ने काम हुनेछ। पार्टीको वैधानिकता बचाउन भन्दै वडा अधिवेशन भदौ १८ मै गर्नुपर्ने बाध्यतामा कांग्रेस छ। सभापति देउवाले पछिल्लो समय थप गरेको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। कांग्रेसले १४ औं महाधिवेशन भने मंसिर ९ देखि काठमाडौंमा गर्ने कार्यतालिका बनाएको छ। सेतोपाटी ।