Home समाचार अरुलाई सहयोग गर्दा पनि सजाय पाउने ? _गापा अध्यक्ष मल्ल

अरुलाई सहयोग गर्दा पनि सजाय पाउने ? _गापा अध्यक्ष मल्ल

by ईलालटिन
0 comment

पर्वत । ‘अब त जामाना पनि के आयो यो ? अरुलाई सहयोग गर्दा पनि सजाय पाउने ? म जनप्रतिनिधि भएपछि होस वा त्यो भन्दा अगाडि । आवश्यक परेको ठाउँमा सहयोग गर्दै आएको छु’ पर्वतको जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) भन्छन्, ‘मैले त यो बुझ्नै सकिरहेको छैन की अदालतले छलफलमा नबोलाई कसरी चार महिना अगाडि फैसला गरेको रहेछ ? म जनताको काम गर्ने मान्छे सधैँभर एउटै कुरा दिमागमा बोकेर त हिँड्न भ्याउँदीन नी त ।’कास्की जिल्ला अदालतले पर्वत प्रहरीलाई लेनदेनको विषयमा पक्राउ गर्न भनी पत्र पठाएपछि यो कुरा समाचारमा आयो, सामाजिक सञ्जालमा पनि देखियो । सोच्दै नसोचेको विषयमा एकाएक पक्राउको पूर्जी आएपछि तनाब त जसलाई पनि हुन्छ ।

१० बर्षअघि आफ्नै साथीलाई अफ्ठ्यारो परेपछि सवारी किन्ने क्रममा मल्ल साक्षी बसे तर त्यही साथीलाई गरेको भलाईको साक्षीले उनलाई नै पोलेको छ । धौलागिरी अञ्चल यातायात बस ब्यवसायी समितिको सदस्यको रुपमा तत्कालिन अवस्थामा बागलुङ रामरेखा निवासी राजेश बोहराले खरिद गरेको फोर्स कम्पनीको मिनी बसको साक्षी मल्ल बसेका थिए । बोहोराले बसको किस्ता तिरेनन् । बस हिमालयन अटोमोबाइलले तानेर राख्यो । यो बिचमा मल्ललाई केही थाहा भएन । ‘बस किन्ने ब्यक्तिले तिर्ने रकम तिरेहोला भन्ने भयो, पैसा तिरेनतिरेको मलाई कुनै जानकारी नै भएन’ मल्लले भने–‘तर आज साथीकै भलाई गर्छु भन्दा आफैलाई फसाउने गरी घटना भयो ।’ साथीभाईको सहयोगको लागि साक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरि कास्की जिल्ला अदालतबाट गरिएको फैसला र केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारले आफूमाथि घोर अन्याय भएको मल्लले बताएका छन् । उनले आफूले सामाजिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको डाह गर्नेहरूले नियोजित रूपमा फसाउन खोजेको आरोप समेत लगाएका छन् । ‘आजका मितिसम्म कसैको एक रुपैयाँ पनि नतिर्ने र गलत मनसायबाट खाने काम गरेको छैन, सकेसम्म सबैको भलो होस भन्ने नै मेरो सोच छ तर कहिलेकाही अर्काको भलो गर्दा पनि फसिने रहेछ’ मल्लले भने ।

अध्यक्ष मल्लले वास्तवमै लेनदेनको विषयमा सत्संगत र साथीभाइहरुलाई अफ्ठ्यारो परेको बेला साक्षी जमानी बस्ने कुरा पिता पुर्खाकै पालादेखि चलिआएको र आफूपनि १०÷१२ बर्ष पहिले धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिको सदस्य भएको बेला बाग्लुङ जिल्ला निवासी राजेश बोहराले खरिद गरेको फोर्स कम्पनीको मिनी बसको साक्षी बसेको वताउँदै त्यही साक्षीको आधारमा आफूमाथि मुद्दा दर्ता भएको जानकारी दिए । ’साक्षी बसेर गरेको लेनदेन व्यवहार यति लामो समयसम्म मिल्यो वा मिलेन भन्ने कुरा फड्के किनारमा साक्षी बस्नेलाई थाह हुने कुरा पनि भएन, म पनि यो बीचमा विभिन्न सामाजिक तथा राजनीतिक कामको उल्झनले गर्दा त्यतापट्टि ध्यान दिन पनि पाइन । तर पछिल्लो समय मलाई दोषी करार दिएर जिल्ला अदालतले जुन फैसला गरेको छ त्यो फैसलाले मलाई नै आश्चर्यमा पा¥यो’ अध्यक्ष मल्लले भने । उनले आफूविरुद्ध परेको मुद्दाको आफूलाई नै कुनै जानकारी समेत नभएको दावी गरे । ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार मैले उक्त मुद्धाको प्रतिउत्तर समेत लगाउन पाइन, यो बिषयले मलाई निकै दुखित बनाएको छ’– मल्लले भने । वास्तवमा त्यो बसको फाइनान्स नबिल बैंकले गरेको र बसपनि मल्लको नाममा नभइ हिमालयन इन्भेस्टमेन्ट नामक अटोमोबाइल कम्पनीकै नाममा रहेको समेत पाइएको छ ।

अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताउँदै २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जवानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैले तिरिदिएको बताए । २०६८ साल कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम १० लाख १७ हजार ९५ रुपैयाँ रहेपनि आफूले १९ लाख रूपैयाँ तिरिदिएको जानकारी दिए । ‘किनेको मान्छेले तिर्न नसकेपछि कानुन अनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने रहेछ । मैले पैसा तिरिदिएको छु’– मल्लले भने ।

उता हिमालयन अटो मोवाइलका प्रोप्राइटर तथा वादी ध्रु्रवबहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै पाएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा टुङ्गिइसकेको बताए । ‘मल्लले पनि साथीको लागि गाडी निकालिदिएका हुन्, उनी आफैले लगेका पनि होइनन् तर जमानी बसेका कारण यो अवस्था आएको हो । साथीका लागि जमानी बसेकाले उनलाई तनाब मात्र भयो’ थापाले भने–‘गाडी किनेको मान्छेले पहिले नै तिरेको भए यो अवस्था आउने थिएन । यो मुद्दाका सबै प्रक्रियाहरू ढिसमिस भएका छन् । मैले पैसा पाउनु पर्ने थियो पाएँ, अब यो मुद्दा सकियो ।’

नेपाली काँग्रेस पर्वतको कोषाध्यक्ष रहेका मल्लले आगामी १४ औँ अधिवेशनमा आफू जिल्ला सभापतिमा लड्ने तयारी गरेकोले आफूलाई यसबाट विफल पार्नका लागि यो अदालती प्रक्रिया अपनाइएको मल्लको तर्क छ । ‘राजनीतिक रूपमा यो मुद्दा उठाइएको छ । पार्टीको सभापतिको बलियो दाबेदार आफू पनि रहेका कारण त्यसैलाई विफल पार्न खेलेको देखिन्छ । पहिले त्यो बारेमा थाहा भएको भए त तिरिदिन्थेँ’ मल्लले भने–‘मैले कसैको एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि मेरोलागि ठुलो कुरा थिएन । उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो । तर कसरी हुन्छ मेरो बदनाम गराउने उद्देश्यले अदालती प्रक्रियामा गएजस्तो लाग्यो ।’ कास्की जिल्ला अदालतले मल्ललाई यो मुद्दामा बिहिबारै सफाई दिएको छ ।

नेपाली काँग्रेसका युवा नेता समेत रहेका मल्लले राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय रहदै आएका छन् । उनले विशेष गरी कोभिडको बेला पर्वतका सबै पालिका, सबै वडा, विभिन्न स्वास्थ्य संस्था, पर्वतसहित बागलुङ, म्याग्दीसम्म पुगेर पनि आफ्नै ब्यक्तिगत खर्चमा लाखौ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री बितरण गरेका थिए । अफ्ठ्यारो अवस्थामा सहयोगको हात अगाडी बढाइहाल्ने मल्लको सोच, ब्यवहारले पनि पर्वतका गाउँगाउँमा उनको राम्रो जनमत रहेको छ । न्यूज दृष्टि ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com