काठमाडौं । सर्वोच्च अदालतले बेलायतको नेपाली दूतावासस्थित आमरण अनसनमा बसिरहेका भूतपूर्व गोर्खा सैनिकको जीवनरक्षा गर्न चाहिने व्यवस्था गर्नु भन्दै सरकारलाई अन्तरिम आदेश दिएको छ। अधिवक्ता संजय अधिकारीसमेतले दिएको रिटमा न्यायाधीश दीपककुमार कार्कीको इजलासले बिहीबार यस्तो आदेश दिएको हो।
‘जीउ ज्यान जस्तो संवेदनशील विषयको अवस्था समेतलाई विचार गर्दा अनसनमा बसेका व्यक्तिहरुको तत्काल जीवन रक्षाको आवश्यकता रहेको र सो व्यवस्था मिलाउनुपर्ने नेपाल सरकारको प्राथमिक दायित्व भएकाले बेलायतस्थित नेपाली दूतावास मार्फत् अनसनमा बसेका नेपाली नागरिक धनबहादुर गुरुङ्ग, ज्ञानराज राई र पुष्पा राना घलेसमेतको जीवन रक्षार्थ जे जो गर्नुपर्छ गरी आवश्यक व्यवस्था मिलाउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।
साउन २३ देखि गोरखा सैनिकको तलब सुविधा र पेन्सन लगायतका सुविधा समान हुनुपर्ने माग गर्दै भूतपूर्व गोरखा सैनिक ज्ञानराज राई, धनबहादुर गुरुङ्ग र पुष्पा राना घले अनसनमा बसेका थिए। यस विषयमा नेपाल सरकारले कुनै चासो नदेखाएको र आफ्नो मौनता र अकर्मण्यतालाई निरन्तरता दिई राखेको भन्दै तत्काल अनसनकारीहरूको माग पुरा गरी जीवन रक्षा गर्न आदेश दिन माग राखी अधिवक्ता अधिकारीले रिट दिएका थिए।
तर अहिलेसम्म कुनै ठोस पहल नभएपछि गोर्खा सैनिक र निज परिवारका सदस्यहरु धनबहादुर गुरुङ्ग, ज्ञानराज राई र पुष्पा राना घलेसमेत ३ जना आमरण अनसनमा बसेका हुन्। उनीहरूको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको, धनबहादुरको त स्वास्थ्य अझै गम्भीर भएर अस्पतालमा भर्ना भएको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ। यस्तो अवस्था देखिएपछि सर्वोच्चले नागरिकको जीवन सुरक्षाको दायित्व नेपाल सरकारको रहेको भन्दै उनीहरूले उठाएका विषयमा तत्काल ध्यान पुर्याउन भनेको हो। सेतोपाटी ।
