खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा छानबिन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएको छ ।
दिक्तेल बजारमा धागो तथा प्लाष्टिकका टुक्रा टाँस्सिएको डाइजेष्टिभ बिस्कुट भेटिएको विषयमा तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई निर्देशन दिएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगले उक्त विषयमा यथाशीघ्र कारबाहीको प्रक्रिया अगाडि बढाउन र उपभोक्ता अधिकार संरक्षण गर्न र उत्पादक कम्पनीलाई जिम्मेवार बनाउन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । यता प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उक्त विषयको जानकारी आएको र कारबाहीका लागि आवश्यक अनुसन्धान सुरु गरेको बताएका छन् ।
दश स्थानीय तह रहेको जिल्लाका अधिकांश बजारमा म्याद नाघेका अखाद्य सामग्री बिक्री तथा वितरण हुने गरेको खबरसमेत सार्वजनिक भएको छ । जिल्लामा म्याद नाघेका अखाद्य सामग्री खुलेआम बिक्री तथा वितरण भइरहेको पाइए पनि अहिलेसम्म व्यापारीमाथि सम्बन्धित निकायले कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन । रातोपाटी ।
