काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रीय समिति बैठकमा डा.शेखर कोइरालाले तिब्र असन्तुष्टि ब्यक्त गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा ध्यान नदिएको आरोप लगाएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले १०० प्रतिशत समय सरकार सञ्चालनमा दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टी काममा खर्च गरेर प्रभावकारी ढंगले सरकार सञ्चालन नगरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीजी ले १०० प्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?’
२ महिनादेखि १५ मन्त्रालय नेतृत्वविहिन रहेको बताउँदै उनले यसरी सरकारले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिनसक्छ भन्दै प्रश्न गरेका छन् । कोइरालाले भनेका छन् ः ‘संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दैछ । गठबन्धनको सरकार छ । अहिले सरकारका सामु धेरै चुनाैती छ ।’यसबेला अन्तर्राष्ट्रिय परिस्थिति समेत काँग्रेस पार्टीको प्रतिकुल रहेको दाबी गर्दै कोइरालाले छिमेकी राष्ट्र र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिए ।
कोइरालाले क्रियाशील सदस्यताका विषयमा अल्झिन आवश्यक नरहेको समेत बताए । नेतृत्व र क्रियासिल छानबिन समितीले क्रियाशीलमा धेरै समस्या छैन भनेर भनिसकेकाले यसमा अल्झिन नहुनेमा जोड दिए ।