Home फोटो फिचर कुश्माका मुख्य सडक र चोकमा राखिएका सिसी क्यामरा बिग्रँदा सुरक्षा चुनौती बढ्दो  

कुश्माका मुख्य सडक र चोकमा राखिएका सिसी क्यामरा बिग्रँदा सुरक्षा चुनौती बढ्दो  

by ईलालटिन
0 comment

पर्वत । सुरक्षा दृष्टिकोणले संवेदनशील मानिने सदरमुकाम कुश्माको मुख्य सडक र चोकहरूमा राखिएका सिसी क्यामराहरूले काम गर्न छाडेका छन् । सुरक्षा निगरानीका लागि लाखौँ खर्चिएर जडान गरिएका क्यामरा एकपछि अर्को बिग्रन सुरु गरे सँगै सुरक्षा चुनौती बढ्ने देखिन्छ ।

लाखौँ खर्चेर सदरमुकाम एरियाका २० स्थानमा गत वर्ष सिसी क्यामरा जडान गरिएको भए पनि त्यसको केही महिनामै क्यामराहरूले काम गर्न छाडेका थिए । उसो त क्यामरा जडान गर्ने काम ६ वर्ष अघि नै २२ लाख रुपैयाँ लागतमा सुरु भएका थिए । तर, त्यस बेला पनि जडान गरिएका सिसी क्यामराहरूले महिना दिन भन्दा बढी काम गर्न सकेन । र, लामो समय बिग्रिएर बसेका सिसी क्यामराहरू पोलहरूमा झुन्डी नै रहे ।

कुश्मा नगरपालिकाले ५ लाख रुपैयाँ खर्च गरेपछि फेरि बजारका मुख्य सडक र चोकहरूमा क्यामरा राख्ने अभियान सुरु भयो । गत वर्ष नेपालीहरूको महान् पर्व दसैँ तिहार नजिकिँदै गर्दा सुरक्षाको चुनौती थप बढ्न सक्ने भन्दै तत्कालीन प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले नगरपालिका सँग समन्वय गरेर क्यामरा जडानको काम सम्पन्न गरेका थिए । तर, धेरै क्यामराहरू चट्याङ, अनियमित विद्युत् आपूर्ति, विद्युत् पोल फेरबदल र मर्मत सम्भारको अभावले प्रयोगविहीन बन्न पुग्यो ।

सदरमुकाममा जडान गरिएका २० वटा सिसी क्यामरा मध्ये मुख्य चोक अन्तर्गतको ६ ठाउँका क्यामराहरू बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयको गेट अगाडी पोखरा(बागलुङ सडक खण्ड, गुप्तेश्वर गुफा जाने बाटो स्थित पाथीभरा मन्दिर, दुर्लुङ जाने बाटो तथा पोखरा(बागलुङ सडक खण्ड, बजार एरियाको आचार्य चोक, जिल्ला प्रशासन कार्यालय गेट र सिप विकास कार्यालयको एरिया मुडिकुवा र कैया पुल जाने बाटोमा राखिएका क्यामराहरूले काम गर्न छाडेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी गराए ।

‘म आउन भन्दा अघि नै दश–बाह्र वटा क्यामरा बिग्रिएर बसेका रहेछन्’, डिएसपी बुढाथोकीले भने, ‘हामीले बिग्रिएका क्यामराहरू मर्मत गर्ने चरणमै छौँ, दुर्लुङचोकमा जडान गरिएको क्यामराको पोल विद्युतले फेर्न लागेको हुँदा समस्या भएको हो ।’ केही दिन अघि मात्र दुर्लुङचोकबाट एउटा मोटरसाइकल चोरो भएको थियो । उक्त मोटरसाईकल चोर्ने ब्यक्तिको पहिचान अझ खुल्न सकेको छैन । चोकमा भएको क्यामरा बिग्रिएको मौका छोपेर मोटरसाईकल चोरिएको स्थानीयले बताए । ‘चोरले यहाँको क्यामरा बिग्रेको छ भन्ने थाहा भएकै कारण चोर्ने हिम्मत गरेको हुनुपर्छ’—स्थानीय मनोज पौडेलको बुझाई छ ।

अपराध गर्न बाट रोक्न वा अपराध भइसकेको भए सहज तरिकाले अनुसन्धान गर्नका लागि सिसी क्यामरा  महत्त्वपूर्ण मानिन्छ । ‘सिसी क्यामरा हुँदा कुनै पनि घटनाको अनुसन्धान, विश्लेषण गर्न सिसिटिभी रेकर्ड छ भने धेरै कुरामा सहयोग पुग्छ । सिसिटिभीमा नहुँदा त अहिलेको प्रविधिमैत्री दुनियाँमा धेरै गाह्रो हुन्छ ।’—डिएसपी बुढाथोकी ।

ठुला चाडबाड नजिकिँदै गर्दा मुख्य चोकहरूमा भएका सिसी क्यामराहरूले काम नगर्दा लुटपाट, झैझगडा, सवारी दुर्घटना लगायतका घट्नाहरु घट्न सक्ने हुँदा जति सक्दो चाँडो मर्मत कार्य गरिनुपर्ने स्थानीयले माग गरेका छन् । ‘बजार एरियाबाट दिनदाहाडै मान्छे हराएको स्थित छ‘, स्थानीय पार्वती गुरुङ भन्छिन्, ‘यदि सिसी क्यामरा भइदिएको भए कहाँ, कोसँग गएको हो, भन्ने पत्तो त हुने थियो ।’ बिहीबार बिहान दुर्लुङाचोक स्थित मुस्ताङ गेस्ट हाउसका घरभेटी गजेन्द्र तुलाचन एकाएक बेपत्ता भएका छन् । आज पनि प्रहरी र स्थानीयहरूले बेपत्ता भएका तुलाचनको खोजी कार्य जारी राखेका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com