काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले दुई हजारभन्दा बढी अक्सिजन कन्सेनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले कोभिड – १९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दै आएको निरन्तर सहयोगको एउटा हिस्साको रूपमा १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधी र सामग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भएको कार्यक्रममा २५०,००० एम्पल्स डेक्सामेथाजोन, २००० अक्सिजन कन्सनट्रेटरहरु, २४,००० वटा भेन्चुरी मास्क, करिब ५००,००० अक्सिजन नसल क्यानुला, ६००,००० मास्क (FFP2 respirator) र ५००,००० सर्जिकल ग्लब्स सहितका सामग्रीहरू विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरे ।“देशमा सङ्क्रमितहरूको सङ्ख्या र अस्पतालमा भर्ना हुने बिरामीहरूको सङ्ख्या बढेको अवस्थामा हामीले अत्यावश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गरेका छौँ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड – १९ गम्भीर बिरामीहरूको उपचार र व्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ र आजको हस्तान्तरण कार्यक्रम त्यसको एउटा हिस्सा हो । महामारीको यो समयमा सहयोग प्रदान गर्न पाउँदा हामी खुसी छौँ,” डा. राजेश पाण्डवले भने ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समाग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरूमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरू ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष लिएको छ ।महामारीको सुरुवातदेखि नै कोभिड – १९ को प्रतिकार्य गर्न विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गर्दै आइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले ल्याबको क्षमता विकास, दक्ष जनशक्तिहरूको क्षमता विकास, नीति र निर्देशिकाहरुको निर्माण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । रातोपाटी ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा दुई हजारभन्दा बढी अक्सिजन कन्सेनट्रेरहरु हस्तान्तरण
89
previous post