Home समाचार फलाम कुटेर बाल्यकाल बिताएका गंगाबहादुरको आधुनिक कृषि फार्म

फलाम कुटेर बाल्यकाल बिताएका गंगाबहादुरको आधुनिक कृषि फार्म

by ईलालटिन
0 comment
खोटाङ । कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुरले बुवाले आरनमा गरेको परिश्रमको कमाइले परिवारको सम्पूर्ण गर्जो टार्नुपर्ने बाध्यता थियो कुनै बेला। कमजोर आर्थिक अवस्थाको परिवारमा जन्मिएका उनी पनि बुवासँगै कैयौँपटक फलाम पोल्ने कोइला बनाउन जङ्गल जानुपथ्र्याे। उसबेला कैयौँपटक हम्मरले फलामको लिहीमा (तताएको फलाम कुट्ने ठाउँ) फलामलाई नै बजार्नुभयो गङ्गाबहादुरले पनि। आरनमा फलाम कुट्दाकुट्दै बितेको थियो उनको बाल्यकाल। बाली (काम गरेवापत दिइने अन्न)मा परिवार पाल्नुपर्ने अवस्थाबाट गङ्गाबहादुर अहिले खोटाङको उम्दा व्यवसायिक कृषक बनेका छन्। आधुनिक तरिकाले व्यावसायिक कृषि खेती गर्न शुरु गरेका उनले आफूलाई जिल्लामा अहिले नमूना कृषकका रूपमा उभ्याएका छन्।आफ्नै बुवाको थातथलो सोल्मामा ‘खोटाङ कृषि फार्म’ खोलेर वार्षिक लाखौँ कमाइ गर्न थालेका छन्। घर वरिपरि १० वटा प्लास्टिक टनेल बनाएका गङ्गाबहादुरले मौसमअनुसार विभिन्न किसिमका तरकारी उत्पादन गर्छन्। पछिल्लो समय हाइटेक प्रविधिसमेत प्रयोग गरेर आफ्नो व्यवसायलाई व्यवस्थित बनाएका उनले कमाइको हिसाबले अहिले निकै राम्रो आम्दानी लिनसक्ने भएका छन्। आरनबाट शुरू भएको बाल्यकाल विस्तारै स्कूले जीवनमा परिणत भएको थियो उनको। बाल्यकालमा बाँसुरी बजाउने, बनाउने र गीत गाउने सोख थियो। हुन त सोल्माको त्यो दलितबस्तीमा तिहारमा मारूनी नाच राम्रै हुने भएकाले पनि उनलाई सङ्गीतको मोह बढेको हो। स्कूले जीवन पार गरेपछि उनी रेडियोकर्मी बने। जिल्लाको पहिलो रुपाकोट सामुदायिक रेडियोमा गङ्गाबहादुरले कृषिको गोरेटो कार्यक्रममार्फत आफ्नो यात्रा अगाडि बढाए। रेडियोमा कार्यक्रम गर्दागर्दै उनलाई बजार व्यवस्थापनको भूमिका दिइयो। त्यही बेलाबाट उनको व्यावसायिक सोचको विकास भएकाले विज्ञापन शाखाको समेत जिम्मा लिएर काम गरे।

रेडियोमा कृषिको गोरेटो कार्यक्रम र घरमासमेत सामान्य कृषि कर्ममा उनको दिलचस्पी बढ्यो। रेडियोमा काम गर्दागर्दै गङ्गाबहादुरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी सरिता राईसँग अन्तरजातीय विवाहा गरे। रूढीवादी सोच बोकेको समाजलाई चुनौती दिएर वैवाहिक बन्धनमा बाँधिएपछि उनीहरूलाई काम गर्ने थप हौसला मिल्यो। आफ्नो कृषिकर्मलाई व्यावसायिक हिसाबले अगाडि बढाउँदा उनको कामले विस्तारै सफलता हासिल गर्दै गयो। कृषिसम्बन्धी विभिन्न पुस्तकहरु पढ्ने जाँगरले उनले पहिल्यैदेखि सिटिइभिटीले दिने तालिमहरु लिए। उनीसँग सीप त भयो तर, आधुनिक कृषि व्यवसायमा लगानी गर्ने स्रोत भएन। कुनैबेला वैदेशिक रोजगारीमा जान राहदानी बनाएर त्यसबारे जानकारी लिए। जापानको लागि प्रक्रिया पनि अगाडि बढाए। तर गत स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा उनी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएपछि जापान जाने सपनामा ब्रेक लाग्यो। करिब सात/आठ लाख फसाइसकेका उनको भिसा आउने तयारी थियो। जनप्रतिनिधि भएपछि गाउँमा उनको कृषि पेशा त छँदै थियो अर्को समाजसेवाको पाटो पनि थपियो। त्यसपछि उनी आफ्नो कृषिकर्म र राजनीतिक धर्म तथा समाजसेवाको मर्मलाई मर्न नदिने प्रणका साथ जिल्लामा नै रहेर काम गर्न थालेका छन्। उनको कामप्रतिको लगावलाई मूल्याङ्कन गर्दै कृषि ज्ञान केन्द्र खोटाङले फार्म निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगसमेत गरेको छ। उनको श्रीमतीसँगै एक छोरा र एक छोरी छन्। उनको सबै काममा घरपरिवारको सहकार्य छ। बिहान उठेर तरकारी बारीमा जाने, बजारमा जाने समय भए नभएको अवस्था हेर्ने, पाँच वटा बङ्गुर, दुई वटा भैँसीलाई दाना र घाँसको जोहो मिलाउने। उनको फार्ममा अहिले उत्पादन दिन थालेका दुई हजार ५०० बोट गोलभेडा छन्। हाइटेक प्रविधि अपनाएर बनाइएको फार्मबाट गङ्गाबहादुरले दिक्तेल बजारमा दैनिक ७० देखि १०० केजीसम्म गोलभेडा बिक्री गर्छन्।

प्रति केजी ७० मा बिक्री भइरहेको गोलभेडाबाट मात्रै खर्च कटाएर मासिक ७५ हजारभन्दा बढी आम्दानी हुन्छ। फार्ममा गोलभेडासँगै च्याउ, बन्दा, काउली, भिण्डी, सिमी, अकबरे खुर्सानी लगायत विभिन्न तरकारी उत्पादन हुन्छ। बाहिरी जिल्लाबाट आयातित तरकारीलाई विस्थापित गर्न र जिल्लामै अर्गानिक उत्पादित कृषि उपजलाई बजारीकरण गर्न अभियान शुरु भएको छ। ‘बजारमा अर्गानिक कृषि उपजको माग बढेको बढ्यै छ। उत्पादनले थेग्न सकेको छैन’, उनले भने, ‘आफ्नो फार्मबाट उत्पादित गोलभेडाले बजारको माग धान्न धौ–धौ भएको छ। केही समयपछि थप बिस्तार गर्ने योजना बनाएको छु।’ पछिल्लो पाँच वर्षको अवधिमा कृषि, राजनीति र अध्ययनलाई सँगसँगै अगाडि बढाएका गङ्गाबहादुरले समाज शास्त्रमा स्नातकोत्तर गर्दै छन्। दश स्थानीय तह रहेको जिल्लामा यातायात अवरुद्धका कारण जिल्लाकै अन्य कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन सकिएको छैन। यसमा सम्बन्धित निकायले ध्यान दिन जरूरी रहेको कृषकहरुको भनाइ छ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com