सिन्धुपाल्चोक । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको छ । बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ । ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए । पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुङ्गा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए ।
उच्च जोखिमका घरमा बस्ने तयारी नगर्न मेलम्ची नगरपालिकाको अपिल
128
previous post