Home विशेष मध्यपहाडी लोकमार्गको गुणस्तरमा प्रश्न

मध्यपहाडी लोकमार्गको गुणस्तरमा प्रश्न

by ईलालटिन
0 comments

श्रीभद्र पौडेल
हेमजा  ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको गुणस्तरमा प्रश्न उठेको छ । लोकमार्गअन्तर्गत पोखरा–२५, हेमजा खण्डमा सडक कालोपत्रे भएसँगै भत्किन थालेको छ ।

हेमजाको याम्दी, सुइँखेत लगायत स्थानमा केही महिनाअघि मात्रै गरिएको अस्फाल्ट प्रविधिको पिच भत्किन थालेको छ भने । पिचबाट पानी निस्कने र बीच सडकमै प्वाल पर्न समेत थालेको छ । कम गुणस्तरीय सामग्री प्रयोग भएका कारण निर्माणको छोटो समयमा नै सडक बिग्रिन थालेको हेमजावासीले गुनासो गरेका छन् ।

‘केही काम रात परेपछि भयो । अधिकांश ठाउँमा चिउरेढुंगा प्रयोग गरियो,’ सुइँखेतमा थानेश्वर विक भन्छन्, ‘कतिपय अवस्थामा पानी परेको बेलासमेत कालोपत्रे भयो । अन्य कतिपय प्राविधिक कुरा त हाम्रो बुझाइभन्दा बाहिरका रहे । जसकारण अहिले समस्या भएको हो ।’

हेमजावासीले इञ्जिनियर र निर्माण व्यवसायीबीचको अस्वस्थ तालमेल कारण सडकको गुणस्तरमा कमी आएको आरोप समेत लगाएका छन् । आयोजनाका इञ्जिनियर अनन्त बरालले सडक लेन विभाजकमा (डिभाइडरमा) ढलान नगरिँदा तथा कतिपय स्थानमा डिजेल पोखिएका कारणले सडक भत्कने थालेको स्वीकार गरे । सर्वसाधारणले भनेजस्तो सडक नबिग्रिएको दाबी गर्दै उनले केही बिग्रन सुरु हुँदा सँगसँगै मर्मतको कार्य पनि हुने बताउँछन् ।

सडक निर्माणअन्तर्गत हाल पिच मुनिबाट पानी आउने समस्या समाधानका लागि डिजाइन नै परिवर्तन गरी सडक विभाजकमा ढलानको काम (मिडियममा पिपिसी) भइरहेको छ । उक्त काम करिब ४० प्रतिशत सकिएको छ । जसका लागि दैनिक २० मजदुर खटिरहेका छन् ।

२ खण्डमा गरी १२ किमी लम्बाइको उक्त सडकखण्ड निर्माणअन्र्तगत याम्दीदेखि बाँसबोटसम्म १० किमी सडकखण्ड यसअघि नै कालोपत्रे भइसकेको छ । अब बाँसबोटदेखि फेदीसम्म २ किमी सडक कालोपत्रे गर्न र पूरै सडक खण्डमा संकेत राख्न÷निर्माण गर्न बाँकी छ । आगामी पुससम्ममा सम्पूर्ण कार्य सक्ने जनाइएको छ ।

सो सडकखण्ड काठमाडौंस्थित शर्मा एन्ड कम्पनीलाई २०७४ असोज १ मा ३ वर्षभित्र सक्ने गरी निर्माण जिम्मा दिइएको हो । तर कोरोना भाइरस प्रभाव र बीच सडकस्थित विद्युत पोलका कारण निर्धारित समयमा काम हुन नसकेकोका कम्पनीको दाबी छ ।

सडक कुल ३० मिटर फराकिलो बनाइएको छ । जसअन्तर्गत अधिकांश स्थानमा डिभाइडरको रुपमा बीच भागमा ३ मिटरको फूलबारी निर्माण गरिँदै छ । साथै २ मिटर फराकिला नाली निर्माण भइसकेका छन् । दुवैतर्फ समान ३ लेनको बाटो निर्माण भएको छ ।

१ अर्ब ९६ करोड रुपैयाँ लागतमा पोखरा–बागलुङ राजमार्गअन्तर्गत उक्त सडकखण्ड स्तरोन्नति गरी मध्यपहाडी लोकमार्गका रुपमा विकास गर्न लागिएको हो । आदर्श समाज ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com