विराटनगर । उपचारका क्रममा एक जना वृद्धको मृत्यु भएपछि बिरामीका आफन्तले विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड गर्नका साथै कर्मचारीलाई कुटपिट गरेका छन्।पिलोको शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिकाका कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले अस्पतालका कर्मचारी एवं सुरक्षागार्डमाथि कुटपिट गरेका हुन् ।उनको सोमबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मोरङ प्रहरीका अनुसार आफन्तको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले सोमबार राति अस्पतालको काउण्टरमा तोडफोड गरेका छन् । तोडफोडबाट काउण्टरको झ्यालका शिशा फुटेका छन् ।मलद्वारमा पिलो रहेका हुसेनलाई उपचारका लागि सोमबार बिहान परिवारका सदस्यले अस्पताल भर्ना गरेका थिए । सर्जन डा सरोज राजवंशीको टोलीले साँझ ७ बजेतिर पिलोको शल्यक्रिया गरेको थिए ।गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका हुसेनको राति १० बजेतिर मृत्यु भएको हो। त्यसको केही बेरमै हुलदङ्गा र तोडफोड हुँदा अस्पतालको अवस्था तनावग्रस्त बनेको मेहताले बताए ।
पिलोका कारण सङ्क्रमण फैलिएका कारण मृगौला, मुटुलगायत शरीरका विभिन्न अङ्गले काम गर्न छोडिसकेकाले उनलाई बचाउन नसकिएको मेहताले बताए ।चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै २५/३० जनाको संख्यामा रहेको समूह राति तोडफोड र कुटपिटमा उत्रिएको उनको भनाइ छ । उनका अनुसार आक्रोशित भीडलाई रोक्न र सम्झाई बुझाई गर्न खोज्दा कर्मचारी र सुरक्षागार्डहरूमाथि कुटपिट गरेका थिए ।कुटपिट र तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेर घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । मृतकको शव भने अस्पतालमै छ । शव बुझ्न कोही पनि आफन्त नआएको अस्पतालका प्रशासकीय अधिृकत मेहताले बताए । मृतकका आफन्तले भने शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग राखेका छन् । रातोपाटी ।