पोखरा । पोखराका पर्यटन व्यवसायीले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’लाई भेटेर कोभिड–१९ का विरुद्धको खोपको व्यवस्था मिलाइ दिन आग्रह गरेका छन् । मंगलबार पर्यटन व्यवसायीहरुले अर्थमन्त्री बराललाई मन्त्रालयमा भेटेर करिब पाँच हजार खोपको ब्यवस्था मिलाउन सकेको अवस्थामा पोखराको पर्यटन ब्यवसाय तङ्ग्रिने जानकारी गराएका हुन् । व्यवसायीको गुनासो सुनेपछि अर्थमन्त्री बरालले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि व्यवसायीले माग गरेको पाँच हजार खोप व्यवस्थापन गर्न आवस्यक पहल गर्ने बताए । उनले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पनि आवस्यक पहल गर्ने आश्वस्त पर्यटन व्यवसायीलाई गराएका थिए । व्यवसायिक जिवन रक्षा कोषबाट समस्यामा परेका व्यवसायीलाई राहत दिन आग्रह गरे । मन्त्री बरालले कोरोनाबाट थलिएको पर्यटन व्यवसायीको राहतका लागि व्यवसायिक जीवन रक्षा कोषको मागलाई सम्बोधन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताए । यति वेला जनतासँग प्रत्यक्ष भेटघाटमा हामी व्यस्त भएका छौं,जनताको आवश्यकताको आधारमा प्रथामिकता निर्धारण गरेर आवश्यक सहयोग गर्ने पक्षमा सरकार रहनेछ,’ उनले भने । परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले पहिलो चरणमा होटल तथा रेष्टुरेण्टसहितका मजदुर एवं व्यवसायीलाई ५ हजार कोरोना बिरुद्धको खोप आवश्यक भएको बताए ।
गण्डकी प्रदेश सरकारले अघिल्लो बर्षमा ल्याएको एक अर्बको व्यवसायीक जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको उनले दाबी गरे । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ बर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकोले कर्जा तालिकालाई पुनर्तालिकीकरणका लागि पर्यटन व्यवसायीहरुले प्रदेश सरकार समक्ष माग गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याइने मौद्रिक नीतिमा आगामी आर्थिक बर्ष २०७८÷०७९ मा पर्यटन प्राथामिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा ५ प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यबस्था मिलाउन समेत अनुरोध गरिएको भट्टराईले बताए । अग्रज पर्यटन व्यवसायी अग्नि कंडेल, वासी त्रिपाठी, टिकाराम सापकोटा लगायतले यो बर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसंग माग गरे । पदमार्ग संरक्षण गर्न र पर्यटकीय गन्तव्यको संरक्षणमा ध्यान दिन समेत पर्यटन व्यवसायीहरुले माग गरेका थिए । रातोपाटी ।