Home बुलेट न्युज पर्वत– बागलुङ्ग खण्ड छ दिन पछि सुचारु

पर्वत– बागलुङ्ग खण्ड छ दिन पछि सुचारु

by ईलालटिन
0 comment

पर्वत । पाँच दिनदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडक खण्ड मङ्गलवार साँझ देखि एकतर्फी रूपमा सुचारु भएको छ। पहिरोमा रहेका ठुला ढुङ्गा विस्फोट पछि हटाउने काम भएकाले एकतर्फी रूपमा सडक सुचारु भएको हो ।

ठुला आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि मङ्गलवार दिनभर पहिरो हटाउने काम गरेकाले एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिवराज बुढाथोकीले जानकारी दिनुभयो । एकतर्फी रूपमा सडक खुलाएपछि मालबहाक सवारीहरू पनि गन्तव्यतर्फ लाग्न थालेका छन्।

जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा गत असार २४ गते सडकमाथिबाट अजमानका ढुङ्गासहित आएको पहिरोका कारण बाटो अवरुद्ध अवस्थामा थियो। पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको थियो।

डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सुचारु गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिने निर्णय भएको थियो। सोहीअनुसार नेपाली सेनाको पर्वतमा रहेको केवलजंग गुल्मले म्याग्दी पुगेर विस्फोटक पदार्थ ल्याएपछि सोमबार पहिरो स्थलमा विस्फोट गराइएको हो।

दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङ अन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि काम चलाऊ वैकल्पिक सडकका रूपमा अर्मादी–बगैँचा चोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग भएको थियो। उक्त सडकमा साना सवारीहरू गुडाउन सकिए पनि ठुला सवारीहरू गुड्न नसक्दा मालवाहक सवारीहरू भने बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका थिए।

लोकमार्गको अर्मादीदेखि सहस्रधाराको खण्ड करिब डेढ किलोमिटर लम्बाइको छ। तर अहिले सवारीहरू गुडिरहेको अर्मादी–बगैँचा चोक–पाङ–सहस्रधारा खण्ड कम्तीमा पनि सात किलोमिटर छ। पहिरो पन्छाउन नसकेपछि सवारीहरू करिब ६ किलोमिटर लामो कच्ची र दुःखदायी सडकबाट चल्न बाध्य भएका थिए।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com