काठमाडौं । इराकको एक अस्पतालमा कोरोना भाइरस आइसोलेशन वार्डमा आगलागी हुँदा कम्तीमा ५० भन्दा बढीको मृत्यु भएको छ । यद्यपि, इराकको नसिरिया शहरको दक्षिणमा अल–हुसैन अस्पतालको आगलागी सोमबार अबेर रातीसम्म नियन्त्रण पाइएको थियो ।हाल आगलागीको कारण स्पष्ट छैन तर सुरुवाती अनुसन्धानमा आगो एक अक्सिजन ट्याङ्कमा बिस्फोट भएपछि फैलिएको अनुमान गरिएको छ ।इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन् ।यस्तै बिरामीका आफन्तले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।रोयटर्स समाचार एजेन्सीले प्रहरीसँगको झडपको खबर पनि दिएका छन् । एजेन्सीका अनुसार प्रदर्शन गरिरहेका मानिसहरुले प्रहरीका दुई वहानमा आगलागी गरिदिएका छन् ।चिकित्सा अधिकारीले असोसिएटेड प्रेस न्यूज एजेन्सीलाई बताए अनुसार नयाँ वार्डमा ७० बेडका लागि स्थान थियो र यो तीन महिना अघि मात्रै बनाइएको थियो ।एक स्थानीय स्वास्थ्य अधिकारीले आगलागीको समयमा कम्तीमा ६३ जनाभन्दा बढी भएको जानकारी दिएका छन् ।न्यूज एजेन्सी रोयटर्सलाई अस्पतालका गार्डले भने, ‘मैले सुरुमा कोरोनाभाइरस वार्डभित्र एउटा तेज बिस्फोट सुनेँ र त्यसपछि भीषण आगलागी देखेँ ।’
दुर्घटनापछि खोजी अभियान अहिले पनि जारी छ ।इराकका संसद मोहम्मद अल–हलबौसीले ट्वीट गर्दै भने, ‘इराकी जनताको जीवनको सुरक्षा गर्न नसक्नुको यो एउटा स्पष्ट प्रमाण हो । र यो यस विफलतालाई अन्त्य गर्ने समय हो ।’यसअघि अप्रिल महिनामा बागदादको एक अस्पतालमा पनि एउटा अक्सिजन ट्याङ्क बिस्फोट भएको थियो । उक्त दुर्घटनामा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो ।बिस्फोट र आगलागीको उक्त घटनापछि स्वास्थ्य मन्त्री हसन अल–तमीमीले राजीनामा दिएका थिए ।वर्षौंदेखि युद्ध, उपेक्षा र भ्रष्टाचार झेलिरहेको इराकको स्वास्थ्य व्यवस्थामा कोरोना भाइरस महामारीको गम्भीर मार परेको छ ।जोन हपकिन्स युनिभर्सिटीको ड्यासबोर्डमा रहेको आँकडा अनुसार इराकमा कूल १४ लाख संक्रमित भेटिइसकेका छन् र कोरोना भाइरसका कारण हालसम्म १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । रातोपाटी ।