काठमाडौं । अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मृगौला रोग केन्द्रका प्रमुख प्रा डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताए। केन्द्रमा हाल दैनिक २५० मिर्गौला रोगीको डाइलासिस हुने गरेको छ । यसैगरी ५० जनाको मिर्गौला परीक्षण हुन्छ । अमेरिकाको ‘स्ट्याण्डर्ड’ खानाले धेरै मानिस बिरामी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले खानामा साग सब्जीसहितको स्वस्थ चीजबीज उपभोग गर्नुपर्ने बताए । नेपालमा हाल तीन लाख मानिस मिर्गौला बिगारेर हिँड्ने गरको र तीन हजारको मिर्गौला फेल भएको केन्द्रले जनाएको छ । मिर्गौला रोगबाट बच्न शरीरमा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नुपर्नेमा डा. काफ्लेले जोड दिए । मिर्गौला बिग्रिरहेका बेला कुनै लक्षण हुँदैन, अन्तिममा मात्र थाहा हुन्छ, मर्गौलामा समस्या भएपछि मुटु स्ट्रोकका कारण मानिस मर्छन्, दैनिक दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउनुस्, दिनमा १० हजार पाइला हिँड्नुस्, रातमा सात, आठ घण्टा सुत्नुस्, चुरोट, खैनी, जाँड, रक्सीले मिर्गौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहनुस्, मोटोपना, रक्तचाप भए घटाउने, मधुमेह ठीक राख्ने गरेमा मिर्गौला रोगबाट बच्न सकिन्छ”, उनले भने ।
कार्यक्रममा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले सफाइ महाअभियान आठौँ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा सात हप्ताअघिदेखि हामी साथ छौँ अभियानसँग मिलेर कोरोनाबाट बच्न आवश्यक जानकारी दिन प्रवचन कार्यक्रम आयोजना गरिएको बताए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियानले ५० औँ हप्ताका अवसरमा २०७१ वैशाख १ गते गुह्येश्वरीभन्दामाथिको वाग्मतीमा ढल मुक्त गरेर गुह्येश्वरीमा स्नान गरेकामा हाल पुनः प्रदूषित बनेको छ । नेपालमा अङ्ग दान गर्ने परम्परा विकास हुन नसकेको उल्लेख गर्दै पूर्व मुख्यसचिव पौडेलले आफूले देशमै पहिलोपटक छाला दान गरेको बताए । आगोबाट जलेकाका लागि छाला आवश्यक पर्ने गर्छ । आफू मुख्यसचिव भएकै बेला ‘ब्रेन डेथ क्राइटेरिया’को कानूनी व्यवस्था गरेको उहाँले सुनाउनुभयो । ब्रेन डेथ भएकाको छाला, मिर्गौला र कलेजो दान गर्न सकिने व्यवस्था छ । विकसित मुलुकमा ७५ प्रतिशत अङ्ग दानबाट पाइने गरेको छ । नेपालमा पनि अङ्गदान सबैभन्दा ठूलो दान हो भन्ने मान्यतालाई स्थापित गर्न अभियान चलाइनुपर्नेमा जोड दिइएको छ । अभियानकर्मी डा माला खरेलले महाअभियान र हामी साथमा छौँ अभियानको आयोजनामा साप्ताहिकरूपमा भइरहेको प्रवचनले धेरैलाई स्वस्थ जीवनयापनको सूत्र दिने भएकाले यसलाई निरन्तरता दिने बताए । अभियानकर्मी राजकुमार भट्टराईले वाग्मतीबाट हालसम्म २० हजार टन फोहर व्यवस्थापन गरिएको बताउनुभयो । सफाइ महाअभियानमा १२ लाख स्वयंसेवीले सफाइमा साथ दिएका छन् । महाअभियानबाट प्रभावित भएर उपत्यकामा वाग्मती, सहायक नदी, चक्रपथ, सम्पदा स्थलसहित २० स्थान र उपत्यका बाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदामा सफाइ भइरहेको छ । राताेपाटी ।